२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


अब बसभित्रै रक्तदान यस्तो छ व्यवस्था


0
Shares

कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ ।

रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो ।

रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिए ।

शनिबारदेखि नै सो बसभित्र रगत सङ्कलन शुरु भएको जनाइएको छ । एम्बुलेन्सभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ ।

समग्र गण्डकी प्रदेशलाई सो सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ । भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त  बस वातानुकूलित (एसी) रहेको जनाइएको छ ।

दान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन् ।

बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ ।

सो सेवा पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र  म्याग्दीसम्म एम्बुलेन्स पुगी रगत सङ्कलन गर्ने योजनासहित सञ्चालनमा ल्याएको शाखाका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने भएकाले रगतसमेत माग बढेकाले  घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ । रासस