Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘सुर-साधना’को १८औं श्रृङ्खलामा डेनीले सुनाए चर्चित गीत


0
Shares

काठमाडौं । सांस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीबार आयोजना गर्दै आएको सुर–साधनाको १८औं श्रृङ्खलामा यसपटक गायक तथा संगीतकार डेनी निरौलाले एकल प्रस्तुती दिएका छन् ।

उनले ‘जति चोट दिन्छौं, देऊ मायालु‘, भन्थिन उनी मेरी..’, अल्झेछ क्यारे पछ्यौरी..’ र धेरै चोटी आँखा जुधे तर..’ बोलका गीतहरु गाएर जमलस्थित नाचघरको सभाहल संगीतमय बनाए ।

उनले प्रस्तुत गरेका गीतमध्ये दुई वटा डोयड गीतमा गायिका तथा उनकै बहिनी झुमा निरौलाले उनलाई साथ दिइन । झुमाका पनि थुप्रै गीतहरु चर्चित छन् । डेनीको बाध्य साधनको संयोजन कलाकार खड्गबहादुर बुढामगरले गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार तथा स्रष्टा चेतन कार्कीले राज्यले कलाकारलाई राष्ट्रको गहना भने पनि साँचो अर्थमा कलाकारलाई सम्मान गर्न नसकेको गुनासो सुनाए । उनले युवा पुस्ताका गायक तथा संगीतकार डेनी निरौलामा आफूले राम्रो संभावना देखेकोले उत्तरोतर प्रगतिको लागि आफ्नो आशिर्वचन रहेको बताए ।

पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङ्गले डेनीले गाएको गीत सुनेपछि उनका आफ्ना पिता कोमल निरौलाको सांगीतिक क्षेत्रमा रहेका अधुरा कार्य डेनी र छोरी झुमाले पूरा गर्ने आशा व्यक्त गरे ।

वरिष्ठ गायक तथा संगीतकार कोमल निरौलाले आफ्नो छोरा डेनी मेरो आफ्नो कारणले भन्दा पनि उनको आफ्नो कर्मले सफलताको सिंढी चढिरहेको र आफूले केवल टेवा मात्रै दिएको बताए । उनले छोरा डेनीको सांगीतिक यात्राको बारेमा चर्चा गर्दै डेनीले सांगीतिक क्षेत्रमा सफलताका लागि अझैं धेरै गर्न बाकी रहेकोले सन्तोष मान्ने बेला नभएको बताए ।

निर्देशक तथा सर्जक प्रकाश सायमीले ऋणको भारले थिचिएको सांस्कृतिक संस्थानले राजेश थापा महाप्रवन्धक भएदेखि शुरु गरेको सुर-साधनाको १८औं श्रृङ्खलामा डेनीको सफलताको सिंढी चढ्दै गरेका र उनमा आफूले अझै धेरै संभावना देखेको बताए ।

उनले २०३९ सालदेखिकै सशक्त गायक तथा डेनीका बुवा कोमल निरौलालाई भेटेदेखि नै यो परिवारसँग आफ्नो सम्बन्ध राम्रो रहेको सुनाए । प्रस्तुतीका क्रममा आफ्नी दिवंगत माता सरस्वती घिमिरेप्रति समर्पित गरेका डेनीले आफ्नो सांगीतिक यात्रामा श्रीमती सवितासहित परिवारको साथ र सहयोग पाइरहेको बताए ।

कार्यक्रममा वरिष्ठ गीतकार चेतन कार्की, पूर्वसभामुख सुवाषचन्द्र नेम्बाङ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, वरिष्ठ कलाकारहरु गणेश रसिक, प्रकाश सायमी सायमी, सूर्य थुलुङ्ग ,गणेश पराजुली, वरिष्ठ संगीतकार बुद्धवीर लामा, वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेल सहितका व्यक्तिहरुले उनको गायकीको खुलेर प्रशंसा गरे ।

तीर्थ पोखरेलले संचालन गरेको कार्यक्रममा सांस्कृतिक संस्थान, नामसालिङ्ग सेवा मञ्च र काठमाडौंको थापागाउँमा रहेको उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले डेनीलाई सम्मान गरेका थिए । उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था र गजुरमुखी कन्ट्रक्सन प्रालिले कार्यक्रमलाई सहयोग जुटाएका थिए ।