
अशोक घिमिरे (रासस)
काठमाडौं, चैत १ । पैसाको माध्यमबाट ‘कोभिड–१९’ (कोरोनाभाइरस) सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।
पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ती पैसा नष्ट गरेको हो ।
यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ ।
न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।
चिकित्सकहरुले पनि कुनैपनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।
पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए ।
अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पानपराग पसल, पेट्रोलपम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।
विभिन्न किसिमका प्राणघातक सरुवारोगको ब्याक्टेरियाले पैसामा संक्रमण भएको पुष्टि गरेको छ ।
संयुक्तराज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेसनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस ‘सी’को स्रोतका रुपमा कोकेनलाई लिइन्छ ।
यसैगरी, दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दुषित भएको पाइएको छ ।
‘मास्टर कार्ड’काअनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो ।
कोरोनाभाइरसले विश्वव्यापीरुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लेसमेत कारोनाभाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।
पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ?
विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इन्जिनियर राम बाडे बताउँछन् ।
पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया, भाइरस फैलने सम्भावना ज्यादा हुन्छ ।
‘दैनिकरुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदान–प्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्नेजस्तै हो’–उनले भने–‘जति बढी पैसाको प्रयोग आउँछ, उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ ।’
दैनिकरुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा–पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाटसमेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ ।
कसरी कीटाणुनाशक बनाउने ?
पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ ।
‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट सहजरुपमा कीटाणुनाशक बनाउन सकिन्छ ।
‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनी बताउँछन् ।
संयुक्तराज्य अमेरिका, कोरिया, सिंगापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन् ।
नेपाली पैसामा के–कस्ता प्राणघातक रोगको सूक्ष्म जीव छन् भनी अध्ययन–अनुसन्धान गर्नु अपरिहार्य भइसकेको उनको भनाइ छ ।
‘यस्तो प्राणघातक रोगबाट बच्ने के–कस्तो उपाय छन्, सोसम्बन्धी कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन जरुरी भइसकेको छ’–उनले भने ।
पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुन–पानीले राम्रोसँग हात धुने गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्