
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्