गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि पाँच कम्पनीको चासो « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि पाँच कम्पनीको चासो


2.223k
Shares

काठमाडौं । हालै निर्माण सम्पन्न भइ व्यावसायिक उडानको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनीले चासो देखाएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ ।

उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउ–जाउ गर्ने यात्रुलाई थप सहज हुने प्राधिकरणको दाबी छ ।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो ।

व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विमानस्थलका लागि कूल १ सय ५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र छन् ।

विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।