२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


‘कोरोनाभाइरस’बारे जानकारी गराउन सरकारले खोल्यो २४ घन्टे ‘कल सेन्टर’


0
Shares

काठमाडौं, फागुन ३० । ‘कोरोनाभाइरस’बारे सर्वसाधारणलाई जानकारी दिन सरकारले ललितपुरको जाउलाखेलमा २४ घन्टे ‘कल सेन्टर’ स्थापना गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाभाइरसबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कल सेन्टर स्थापना गरेको हो ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाभाइरसबारे नकारात्मक हल्ला र भ्रम फैलिएका कारण कल सेन्टर स्थापना गरिएको जानकारी दिए ।

कोरोनाभाइरसबारे कुनै प्रश्न भए कल सेन्टरको १११५ नम्बरमा फोन गर्न सकिने उनले बताए ।

डा. पाण्डेकाअनुसार कल सेन्टरमा ६ जना कर्मचारी राखिएको छ । उनीहरुले सर्वसाधारणले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

स्वास्थ्य सेवा विभागमा आवश्यक तयारी नपुगेका कारण जाउलाखेलमा राखिएको भन्दै डा. पाण्डेले तयारी पूरा भएपछि टेकुमा सार्ने बताए ।

यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल  कोरोनाभाइरसको आशंकामा चारजनालाई ‘आइसोलेसन’कक्षमा राखिएको छ भने दुईजनालाई पाँच दिनदेखि ‘क्वारेन्टाइन’मा राखिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४५० जनाको कोरोनाभाइरसको परीक्षण गरेको जनाएको छ । संक्रमण भने एकजनामा मात्र भेटिएको थियो ।

प्रयोगशालाले परीक्षणका लागि दुईओटा ल्याब तयारी अवस्थामा राखेको जनाएको छ ।