
प्रज्ञा तिमल्सिना र विनोद बजगाइँ (इमेज)
काठमाडौं, फागुन २९ । संयोग नै मान्नुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण भएकै समयमा विश्व मिर्गौला रोग दिवस परेको छ । सन् २००६ देखि मनाउन थालिएको हो ।
आफ्नै देशका चिकित्सक र उपलब्ध साधन–स्रोतप्रति भर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराए ।
प्रधानमन्त्रीको निर्णयले नेपालमा नै दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल हुने रहेछ भन्ने आत्मविश्वास जगाएको छ । हाम्रा चिकित्सकहरु सक्षम छन्, विदेश जानु पर्दैन भन्ने सन्देश प्रवाहित भएको छ ।
तर, प्रधानमन्त्री ओलीले देखाएको विश्वासले देशका चिकित्सकहरु र सरकारी स्वास्थ्य संस्थालाई विश्वास कायमै राख्ने चुनौती थपेको ठान्छन्, मिर्गौलारोग विशेषज्ञ डा. क्रषि काफ्ले ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले हालसम्म ८ जना व्यक्तिको दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिसकेको जनाएको छ ।
मिर्गौला बिग्रन थालेपछि पहिलो उपचार भनेको नै मिर्गौला प्रत्यारोपण हो । प्रत्यारोपण गरिएको मिर्गौलाले १० देखि १२ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।
सरकारको स्वामित्वमा रहेका तीन अस्पताल–त्रिवि शिक्षण अस्पताल, वीर र मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणको सेवा दिइरहेका छन् ।
निजी लगानीका सुमेरु, निदान, ग्रान्डी अस्पताल र पुरानो मेडिकल कलेज चितवनले मिर्गौला प्रत्यारोपण गराउने गरेका छन् ।
परिवारभित्रका व्यक्तिले मात्र मिर्गौला दिन पाउने कानुनी व्यवस्थाले भने मिर्गौलापीडितहरुलाई अप्ठेरो पारेको छ ।
सरकारले मिर्गौलाको प्रत्यारोपण र डायलासिस निःशुल्क गरेको छ । तर, प्रत्यारोपणपछि जीवनभर खानुपर्ने औषधि निकै महँगो भएका कारण आर्थिक अवस्था कमजोर भएका बिरामीलाई समस्या परेको बताउँछन्, डा. काफ्ले ।
मिर्गौला बिग्रँदै गएको लक्षण तत्काल देखिँदैन । अधिकांश बिरामी मिर्गौलामा पुरै समस्या आएपछिमात्र अस्पताल पुग्ने गरेका छन् ।
चिकित्सक काफ्लेले लक्षण कुरेर बस्नुको साटो हरेक वर्षको एकपटक रगत र पिसाबका क्रियाटिन र प्रोटिनको मात्र परीक्षण गरेर मिर्गौला रोगबाट जोगिन सुझाव दिए ।
प्रशस्त पानी पिउने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने र जथाभावीरुपमा औषधिको सेवन नगर्ने हो भने मिर्गौला रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव मननयोग्य देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्