२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेप्सेमा नकारात्मक ‘सर्किट’, कारोबार बन्द


0
Shares

काठमाडौं, फागुन २७ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्जले ‘सर्किट’ लगाएको छ ।

सेयरबजार मंगलबार पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो ।

गत बिहीबारपछि आज खुलेको बजारमा कारोबारको सुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको हो ।

स्टकले कारोबार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ ।

नेप्सेकाअनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।

मंगलबार १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।

पहिलोपटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो ।

पुनः १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ ।

सर्किट लाग्नुअघि कुल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता सेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोबार भएको थियो ।

नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोबार भएको छ ।

यस्तै, एनआइसी एसिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोबार भएको छ । रासस