२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कोरोना संक्रमणः इटलीमा ४ सय ६३ को मृत्यु, सार्वजनिक जमघटमा प्रतिबन्ध


0
Shares

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट आक्रान्त बनेको युरोपेली मुलुक इटलीले क्वारेन्टाइनका थप उपायहरु विस्तार गरेको छ ।

इटली सरकारले पूरै मुलुकभर सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ ।

प्रधानमन्त्री ज्युसेपे कोन्टेले मानिसहरुलाई काममा जान र पारिवारिक आपतकालीन अवस्थामा मात्र हिँडडुल गर्न दिइने बताएका छन् ।

सरकारको यो निर्णयले समाजको सबैभन्दा कमजोर सदस्यहरुको रक्षा गर्ने उनको भनाइ छ ।

टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले इटलीको चलन परिवर्तन गर्नुपर्छ भन्दै यसका लागि मानिसहरु घरमै बस्नु उत्तम विकल्प हो भनेका छन् ।

इटलीको भलाईका लागि सबैजना मिलेर थप कडा प्रावधानको  पालना गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो २४ घण्टामा इटलीमा कोरोनाभाइरसको संक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । ९ हजार १ सय ७२ जना संक्रमित हुँदा मृतकको संख्या ४ सय ६३ पुगेको छ ।

कोरोनाभाइरसका कारण विश्वभर ३ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १ लाख ११ हजार पुगेको छ । इरानमा पछिल्लो २४घण्टामा ४३ जनाको मृत्यु भएको छ ।

चीनमा भने संक्रमण नियन्त्रणतर्फ अघि बढेको छ । संक्रमण फैलिए यता हिजो चीनमा सबैभन्दा कम ४० जना मात्र नयाँ रोगी फेला परेका छन् ।