
जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।
जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो ।
दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो ।
पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट बन्चित छन् ।
गत आइतबार जाजरकोट, कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारकाक्रममा अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै पीडितपक्षले शव बुझ्न मानेको छैन ।
मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३, कुदुकी २८ वर्षीया यशुदा मल्ल ‘आरसी’को गलत सुइको प्रयोगले मृत्यु भएको भन्दै पीडितपक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ ।
उनको शव पाँच दिनदेखि अस्पतालमै छ । समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ ।
घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्