
-मानबहादुर वली/इमेज
सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) भित्रन नदिन सीमावर्ती नाकामा कडाइ गरिएको छ ।
प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा स्वास्थ्यकर्मी खटाएर हेल्थहेस्क स्थापना गरेको हो ।
विश्वका धेरै देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई भित्रिन नदिन कर्णाली प्रदेश सरकारले अग्रसरता लिएको छ ।
सीमा नाकामा निगरानी बढाउँदै उपचारको आवश्यक व्यवस्थापनमा कर्णाली प्रदेश जुटेको हो ।
कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चारवटा नाकामा जाँचमा कडा गरेको प्रदेश सरकारले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले सबै नाकामा हेल्थडेस्क नै स्थापना गर्न लागेको जनाएको छ । चीनसँग सिमाना जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ सँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट भित्रिने सुर्खेत विमानस्थलमा गरी ४ ठाउँमा जाँच हुनेछ ।
यी चारै ठाउँमा हेल्थडेस्क राख्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको छ ।
कोरोनाबाट जोगिन स्थानीय तहमा औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ ।
कोरोना भित्रिन सक्ने जोखिम रहेका नाकामा औषधिसहित स्वास्थ्यकर्मी व्यवस्थापनमा सरकार जुटेको जनाएको छ ।
कोरोना संक्रमित भए उपचार गर्न वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा २ बेडसहितको विशेष कक्ष स्थापना गरिएको अस्पतालका निर्देशक डा. डम्मर खड्का बताउँछन् ।
कोरोना भाइरसको त्रास फैलिएसँगै बजारमा मास्कको अभाव देखिएको छ ।
कोरोना भाइरसको त्रास फैलिएको अवस्थामा रोकथाम र जनचेतनामुलक कार्यक्रमलाई समेत प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्