Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


७० टनेलमा क्षति पुग्दा कृषकलाई १५ लाख नोक्सान


234
Shares

बागलुङ । गत माघ २१ गतेको भारी हिमपातका कारण बागलुङका कृषकहरुको ७० टनेलमा क्षति पुर्‍याएको छ ।

हिमपातका कारण कृषकको प्लाष्टिक टनेलमा क्षति पुर्‍याएको गुनासोपछि कृषि ज्ञान केन्द्र बागलुङले संकलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रका कृषकहरुले आधुनिक तरकारी खेतीका लागि निर्माण गरेका ७० टनेलमा क्षति पुर्‍याउँदा १५ लाख ४० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

केन्द्रले हिमपातपछि संकलन गरेको तथ्याङ्कका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी ७० टनेलमा क्षति पुर्‍याएको भए पनि अन्य खेतीलाई भने हिमपातले राम्रो गरेको जनाएको छ । बाक्लो हिमपातले कृषकको प्लाष्टिक टनेल खेतीमा क्षति पुर्‍याएको र टनेल मर्मतका लागि राहत दिनका लागि पहल भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो ।

‘सानो हिमपातले त किसानलाई फाइदै पुर्‍याउछ, गहुँ जौको उतपादनमा बृद्धि गराउँछ तर, यस पटक बागलुङको उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ’, ढकालले भन्नुभयो, ‘हिमपातले अन्य बालीलाई राम्रो गरे पनि प्लाष्टिक टर्नेलमा क्षति पुर्‍याएको छ, टनेल मर्मतका लागि प्लाष्टिक दिने योजनामा छौं, टनेलसंगै टर्नेल भित्रका टमाटर लगायतका तरकारीमा समेत क्षति भएको छ ।’

अधिकांश क्षेत्रमा टनेलको प्लाष्टिक च्यातिएको र बीचको डण्डी हिमपातका कारण भाँचिएको छ । कृषि ज्ञान केन्द्रले तत्कालै राहत दिन नसके पनि अनुदानमा प्लाष्टिक दिने योजना रहेको जनाएको छ ।

कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्याङ्क अनुसार एउटा टनेलमा झण्डै २२ हजार बराबरको क्षति अनुमान गरेको छ । हिमपातका कारण सबैभन्दा बढी टर्नेलमा क्षति ढोरपाटन नगरपालिकामा भएको छ । जिल्लाको ढोरपाटन नगरपालिकामा ४५ टनेल, ताराखोला गाउँपालिकामा ५ टनेल, तमानखोला गाउँपालिकामा ५ टनेल, काठेखोला गाउँपालिकामा ५ टनेल र मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत जिल्ला भरका १० टनेल गरी ७० प्लाष्टिक टर्नेलमा क्षति पुर्‍याएको हो ।