Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


चीनका राष्ट्रपति सीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना


0
Shares

काठमाडौं, फागुन २४ । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयं आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत् रहेको उल्लेख गरेका छन् ।

यसअघि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो । रासस