५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


‘कोरोना’ले पर्यटन व्यवसायमा मन्दी, हवाई सेवामा असर


0
Shares

नवीन शर्मा र राममान डंगोल (इमेज)

काठमाडौं, फागुन २४ । सुरुमा चीनबाट देखापरेको ‘कोरोनाभाइरस’ अहिले विश्वका ९२ मुलुकमा फैलिइसकेको छ ।

जसबाट सबैभन्दा बढी एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने यात्रीहरु समस्यामा परेका छन् ।

यात्रीकै कारण कोरोनाको संक्रमण फैलिएन थालेपछि विश्वका अधिकांश विमान कम्पनीले उडान कटौती गरेका छन् । जसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ ।

कोरोनाभाइरसकै कारण विदेशी मुुद्रा आर्जनको मुख्य स्रोत बनिरहेको पर्यटन व्यवसायमा मन्दी छाएपछि त्यसको स्वाभाविक असर हवाई सेवामा परेको छ ।

पर्यटन व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने होटल र ट्रेकिङ व्यवसायको व्यापारमा व्यापक कमी आएपछि नेपालका वायुसेवा कम्पनीले समेत नियमित उडानतालिका कटौती गर्न थालेका छन् ।

सन् २०२० को सुरुका दुई महिनामा आन्तरिक उडानतर्फ विदेशी पर्यटकहरुको संख्या करिब ४० प्रतिशतले घटेको छ ।

यो अवस्थामा महत्वपूर्ण पर्यटकीय गन्तव्यलक्षित नियमित उडान प्रभावित हुनु सामान्य हो ।

व्यवसायीकाअनुसार नेपाल पर्यटन विभागमा दर्ता भएका १३० ओटा तारेहोटल, ६२५ ओटा पर्यटकीयस्तरका होटल र २२६ ओटा होमस्टे सेवामा पर्यटकीय चहलपहल पातलिएको छ ।

यो मौसममा पर्यटकले खचाखच भरिनुपर्ने होटलको ‘अकोपेन्सी’ दर १३ प्रतिशतमा खुुम्चिएको छ ।

नेपालका तारे र सामान्य होटलमा २५ हजार कोठा रहेकोमा अधिकांश होटल अहिले खाली छन् । जसको प्रत्यक्ष असर वायुसेवा कम्पनीको आन्तरिक उडानमा समेत परेको छ ।

यो अवस्थामा यात्रीको चाप र सञ्चालन खर्च व्यवस्थापनको हिसाबले सबै वायुसेवा कम्पनीले समानुपातिकरुपमा उडान कटौती गर्दै जाने रणनीति लिएका हुन् ।

नेपालमा अहिले तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

कोरोनाको कहर सुरु भएपछि उडान सम्झौता भइसकेको थप तीन एअरलाइन्सले उडान नै सुरु गर्न सकेका छैनन् । यसको असर पनि आन्तरिक वायुसेवाको उडानतालिकामा परेको छ ।

नियमित उडान भर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान कटौती गरेको, नेपाल आउने पर्यटकको संख्या ७५ प्रतिशतले घटेको तथा पूर्ववत् अवस्थामा उडान भर्ने गन्तव्यमा पर्याप्त यात्रीसमेत पाउन छाडेको भन्दै नेपालका व्यवसायीसमेत ‘पर्ख र हेर’को रणनीतिमा पुगेका हुन् । यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्र र श्रम बजारमा समेत देखिन थालेको छ ।

भिडियो हेर्नुहोस्