२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


सुरुङ भित्र शालिग्राम संग्रहालय, पर्यटको रोजाइमा पर्दै


0
Shares

– डम्बर बुढामगर/ ईमेज 

बागलुङ । बागलुङ नगरपालिकाअन्तर्गतको कुडुलेफेदीमा निर्मित नेपालको एक मात्र शालिग्राम संग्रहालय पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षण गर्न एक सय मिटर लामो सुरुङ मार्ग खनेर शालिग्राम संग्रहालय निर्माण गरिएको हो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा निर्मित शालिग्राम संग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दैै गएपछि स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।

बागलुङ सदरमुकामबाट ३ किलोमिटरको दुरीमा रहेको संग्रहालयमा धार्मिक पर्यटकहरु बढी आउन थालेका छन् ।

त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टी धार्मिक महत्वका १ लाख २५ हजार शालिग्राम संकलन गरेर राखिएको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम हराउँदै गएपछि संरक्षणको लागि ६ करोड रुपैयाँको लगानीमा शालिग्राम संग्रहालय निमार्ण गरिएको श्रीरङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यको भनाइ छ ।

प्राकृतिक र मानवीय अतिक्रमणका कारण दुर्लभ बन्दै गएको शालिग्रामलाई हिन्दू धर्मअनुसार भगवान विष्णुको प्रतीकका रुपमा पूज्ने गरिन्छ ।

संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ ।

संग्रहालयमा भारत, चीन, पाकिस्तानलगायतका देशमा रहेका प्रसिद्ध नदीका शिला तथा समुद्री अवशेषलाई पनि नमूनाका रूपमा राखिएको छ ।

मुस्ताङको मुक्तिनाथ जाने धार्मिक पर्यटकहरु संग्रहालयमा आउने गरेको स्थानीयवासी बताउँछन् ।

संग्रहालय नजिकै निर्माणाधीन श्रीरङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको पनि ९९ प्रतिशत काम पूरा भएको छ ।

संग्रहालयको अवलोकनका लागि दैनिक १ सय जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।