२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति सहज छ : आपूर्तिमन्त्री


0
Shares

काठमाडौं, फागुन २३ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कही कतै समस्या नरहेको भन्दै उपभोक्तालाई ढुक्क हुन आग्रह गरेको छ ।

नून, तेल, चिनी, दाल, चामल, ग्यास लगायत दैनिक उपभोगका बस्तुको पर्याप्त मौज्दात समेत रहेकाले सर्वसाधारणलाई नआत्तिन र अनावश्यक भण्डारण नगर्न पनि आग्रह गरिएको छ ।

आपूर्ति मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उत्पादन, आपूर्ति, भण्डारण र बजार अनुगमनबारे विस्तृत जानकारी गराएको हो ।

उपभोक्ताले अनावश्यक भण्डार गर्दा कालोबजारी मौलाउन सक्नेतर्फ सचेत हुन पनि मन्त्रालयले अपिल गरेको छ ।

कोरोनाको त्रासले अत्यावश्यक सामग्री नपाइएला भनेर अधिक भण्डारण गर्दा मास्क, स्यानिटाइजर जस्ता केही वस्तुमा असहज स्थिति देखिए पनि ती वस्तुको उत्पादन बढाउन समेत पहल भैरहेको मन्त्रालयले जनाएको छ ।

मास्क र सेनिटाइजरको माग बढेकाले मुलुक भित्र उत्पादन बढाउने र आयातमा भन्सार छुट दिने तयारी भैरहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाना पकाउने ग्यासको पनि अभाव नहुने र भारतबाट हुने आयात पनि नियमित भईरहेको भन्दै लाइन बसेर सिलिण्डर लिनुपर्ने स्थिति नै छैन भने ।

बजार अनुगमन बढाइएको र कालोबजारी गर्नेलाई ठाउँको ठाउँ लाखौं रुपैयाँ जरिवाना सहित कारबाही गरिएको उहाँले उल्लेख गरे ।

मन्त्रालयले हटलाइन टेलिफोन सञ्चालन गर्न लागेको र उपभोक्ताको गुनासौ सिधै सम्बोधन गरिने उनले बताए ।

यस्तै वाणिज्य मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले केही औषधीको कच्चा पदार्थमा भारतले रोक लगाएकोमा विभिन्न चरणमा सचिवस्तरीय छलफल गरिएको र उत्पादन अनुमति पत्रका आधारमा कच्चा पदार्थ पठाउन भारत तयार भएको उहाँले जानकारी दिए ।