
खिलनाथ ताजपुरिया, नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज)
काठमाडौं, फागुन २३ । ‘कोरोनाभाइरस’ फैलन सक्ने हल्लाका कारण बजारमा मास्क, ह्यान्ड स्यानीटाइजरलगायतका सामग्रीको माग ह्वात्तै बढेको छ ।
जसका कारण ती वस्तुहरुको कालोबजारीसमेत सुरु भइसकेको छ ।
वाणिज्य विभागले भने बजारमा निगरानी बढाएर कालोबजारी रोक्ने कोसिस भइरहेको दाबी गरेको छ ।
‘मास्क छैन, स्यानीटाइजर पनि छैन माफ गर्नुहोला’ लेखिएका पोस्टर राजधानीका क्लिनिकहरुमा अहिले छ्याप–छ्याप्ती देखिन्छ ।
यी दृष्यहरुले मास्क र स्यानीटाइजरको कृत्रिम अभाव कतिसम्म छ भन्ने पुष्टि गर्दछ ।
सरकारले कोरोनाबाट सतर्कता रहन मास्क लगाउन आह्वान गरेपनि अधिकांश क्लिनिकहरुमा अभाव सिर्जना गरिएको छ ।
मास्क तथा स्यानीटाइजरको माग ह्वात्तै बढेपनि डिलरबाट आवश्यक मात्रामा उपलब्ध हुन नसकेको क्लिनिकहरुको भनाइ छ ।
कोरोनाको नाममा कालोबजारी गर्ने र कृत्रिम अभाव खडा गर्ने काम आफूहरुले नगर्ने दाबी पनि केही क्लिनिक सन्चालकहरुको छ ।
२०७२ सालमा भारतको अघोषित नाकाबन्दीले कालोबजारी तथा कृत्रिम अभाव झेलेका सर्वसाधारणले कृत्रिम अभाव र बालोबजारीको सिकार हुनु नपरोस् भन्नेतर्फ सरकारको भने खासै ध्यान गएको पाइएको छैन ।
यद्यपि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तथा कारबाहीको प्रक्रियालाई अगाडि बढाएको दाबी गरेको छ ।
सरकारले मास्क तथा स्यानीटाइजरजस्ता अत्यावश्यक वस्तुहरुको मागलाई नियमितरुपमा आपूर्ति गर्न आयातकर्ता तथा उत्पादकलाई भनेपनि कच्चापदार्थको अभावमा उद्योगहरु नै बन्द हुने अवस्थामा पुगेका छन् ।
कोरोना दुई महिनादेखि फैलिएको भएपनि सरकार नै एकैपटक अत्याउने तरिकाले प्रस्तुत भएर सर्वसाधारणलाई अत्याउने र व्यापारीलाई कालोबजारी गर्ने अवसर दिएको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।
अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिने र कालोबजारी नियन्त्रण गर्नु सरकारको दायित्व हो । त्यसैगरी, सरकारले सर्वसाधारणलाई आश्वस्त पार्ने गरी प्रस्तुत हुनु पनि उत्तिकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्