१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


‘तीन महिनालाई पुग्ने खाद्यान्न छ, आत्तिनु पर्दैन’


0
Shares

काठमाडौं, फागुन २२ । ‘कोरोना’ संक्रमणको सम्भावित जोखिम बढिरहेको बेला औषधि र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा भने समस्या नरहेको सरकारी निकायहरुले स्पष्ट पारेका छन् ।

औपधि व्यवस्था विभागले आगामी तीन महिनासम्म कुनैपनि औषधिको अभाव नहुने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार भण्डारण कम्पनीले पनि आगामी तीन महिनाका लागि पुग्नेगरी पर्याप्त खाद्यान्न मौज्दात रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।

कम्पनीको गोदाममा हाल २५ हजार मेट्रिकटन चामललगायत पर्याप्त दाल, नुन, तेललगायतका दैनिक उपभोग्य वस्तु मौज्दात रहेको कम्पनीका कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

यस्तै, खुद्रा व्यापार संघले पनि आफूहरुको भण्डारण क्षमताअनुसार ६ महिनाका लागि पुग्ने खाद्य सामग्री रहेको स्पष्ट पारेको छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले आफूहरुसँग पर्याप्त भण्डारण हुँदा पनि कहिले–काहीँ कालोबजारी हुने गरेको भन्दै त्यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।

जरिवाना

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कको कालोबजारी गरेको भन्दै क्षेत्रपाटीका केही मास्क पसलहरुलाई दुई लाख बराबरको जरिवाना गरेको छ ।

विभिन्न वस्तु तथा खाद्यपदार्थहरुको अभाव हुने डरले उपभोक्ताले कुनै विचार नै नगर्दा झनै कालोबजारी बढ्नसक्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।