२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


गैरजिम्मेवार सांसद, हाजिर गरेर भत्ता लिने, संसद बैठकमा भागै नलिने


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, फागुन २२ । जननिर्वाचित थलोमा पुगेर विधि निर्माण, जनताको आवाज मुखरित र सरकारी काम–कारबाहीको अनुगमन गरी राज्यलाई जिम्मेवार बनाउने उत्तरदायित्व सांसदहरुमा रहेको छ ।

तर, सांसदहरु मूल दायित्वबाट विचलित हुँदै गैरसंसदीय गतिविधिमा संलग्न रहेको पाइन्छ ।

भत्ता लिने तर नकचरोपन देखाउँदै संसद बैठकमा अनुपस्थित हुने ‘माननीय’हरुको संख्या बढिरहेको छ ।

यही कारण गणपूरक संख्या नपुगेर पछिल्लो एक सातामै संसद बैठक लगातार तीन दिन स्थगित भयो ।

महत्वपूर्ण विधेयकहरुबारे छलफल गरी पारित गर्नु, जनजीविकाका सवालप्रति सरकारलाई जिम्मेवार बनाउनु र सरकारका काम–कारबाही अनुगमन गर्नु सांसदहरुको मुख्य दायित्व हो ।

तर, निजी स्वार्थमा गाँजिने र स्वार्थ समूहको साँठगाँठका कारण उनीहरुको लागि काम गर्ने, योजना हात पार्न मन्त्रालय धाउने र सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रममा सहभागी हुनेतिर सांसदहरुको बढी नै चासो देखिन थालेको छ ।

संसद बैठकमै अनुपस्थित भएर माननीयहरु आफ्नो उत्तरदायित्वबाट च्यूत हुने गरेका छन् ।

प्रतिनिधिसभामा २७५ सांसद छन् । गणपूरक संख्याको लागि एकचौथाइ अर्थात् ६९ जना सांसद भए पुग्छ ।

तर, गणपूरक संख्या नपुगेकै कारण पछिल्लो एक हप्तामा प्रतिनिधिसभाका चारओटा बैठक स्थगित भए ।

तीनचौथाइ सांसदहरु आफ्नो संसदीय दायित्वप्रति जिम्मेवार बन्न नसकेको परिणाम हो यो । यसले मानीयहरुको नैतिकतामै गम्भीर प्रश्न उब्जाएको छ ।

सांसदहरु संसदमा उपस्थित नहुने प्रवृत्ति हुर्कंदो छ । त्यसो त राजनीतिक दलका शीर्षस्थ नेताहरुको प्राथमिकतामा पनि संसद बैठक कहिल्यै पर्ने गरेको छैन । अन्य सांसदहरुले अहिले तिनैको सिको गर्न थालेको देखिन्छ ।

प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसदहरु जोडतोडका साथ सहभागी हुन्छन् र आफ्ना कुरा राख्छन् । तर, जब बैठक संसदको नियमित कार्यसूचीमा प्रवेश गर्न थाल्छ, सांसदहरु बैठककक्षबाट पालैपालो बाहिरिन थाल्छन् ।

सांसदहरु संसदमा पुगेर हाजिर गर्छन्, भत्ता पकाउँछन् । तर, कानुन निर्माणको छलफलमा कहिल्यै चासो दिँदैनन् । एकथरी माननीयको यो शैलीलाई अन्य माननीयहरुले नै रुचाएको पाइँदैन ।

संसदको नियमित कार्यसूचीअन्तर्गत् कुनै विषय निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर संसद बैठक स्थगित हुनु लज्जाजनक विषय हो ।

हाजिर गरेर भत्ता लिने अनि संसद बैठकमा भागै नलिने माननीयहरु सच्चिनुको विकल्प छैन ।