
प्रकाश लम्साल (इमेज)
बारा, फागुन २१ । भारतीय ट्रक पारवाहन सम्झौता र नेपालको कानुनविपरीत अत्यधिक भार बोकी नेपालमा निर्वाध प्रवेश गरेपछि पथलैया–वीरगन्ज व्यापारिक मार्ग ६ लेन सडक बन्न नपाउँदै भत्कन थालेको छ ।
साढे पाँच अर्बको पथलैया–वीरगन्ज व्यापारिक मार्ग ६ लेन सडक सडक विभागले दुई वर्षमा सम्पन्न गर्नेगरी २०७४ साउन १ गतेदेखि निर्माण थालेको हो ।
अत्यधिक भार बोकेर बन्दै गरेको सडकमा केही नेपाली र बढी भारतीय ट्रकहरुले सडकको क्षमता प्रतिएक्सएल १० टन भएपनि ३० टनसम्म बोक्ने गरेपछि ६ लेन सडक निर्माण सम्पन्न हुन नसकेको हो ।
गत साता पारवाहन सम्झौता उल्लंघन गरी पश्चिमी नाकाबाट छिरेका अघिक टन क्षमताका ४३ भारतीय ट्रकहरु पक्राउ गरिएको थियो ।
जनकपुरको लागि कोइला बोकेर आउँदै गर्दा ट्रक व्यवसायीहरुको सक्रियतामा प्रहरीले हेटौंडामा उक्त ट्रकहरु नियन्त्रणमा लिइ ८ लाख १० हजार जरिवाना गरी छाडेको थियो ।
सडक ऐनमा १८ मिटरभन्दा लामो सवारी सन्चालन गर्न नपाउने कानुनी व्यवस्था भएपनि सम्बन्धित निकायले चासो दिएको छैन ।
नियमविपरीत भारतीय मालवाहक ट्रक नेपालमा निर्वाध सन्चालन भएपछि नेपालका ट्रककोसमेत काम खोसिन पुगेको र सडक, पुल र ट्राफिक मापदन्डको ठाडै उल्लंघन भएको छ ।
अर्बौंको लागतमा बन्ने सडकहरुमा क्षमताभन्दा बढी तौलका सवारीले थिचिएपछि सडकको आयु स्वतः घट्ने हुन्छ ।
एसियाली हाइवेको मापदन्डमा आधारित पथलैया–वीरगन्ज व्यापारिक मार्ग ६ लेन सडक आयोजनाका प्रमुख सन्जयकुमार मिश्र दैनिक १० हजार यो मार्गमा चल्ने गाडीहरुमध्ये एक हजार ‘ओभरलोड’का गाडी हुने गरेको बताउँछन् ।
विगतमा कोलकाता बन्दरगाह तथा अन्य भारतीय सहरबाट तयारी तथा कच्चापदार्थ भारतीय ट्रकले नेपालका भन्सारसम्म र नियमबमोजिम भन्सारदेखि १७ किलोमिटरसम्ममात्र ल्याउने गरेका थिए । तर, हाल देशभर सन्चालन भइरहेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्