
काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसभित्रको किचलो सार्वजनिक मञ्चहरुमै छताछुल्ल हुन थालेको छ ।
राजधानीमा बुधबार आयोजित ट्रेड युनियन कांग्रेसको ७४औं स्थापना दिवस कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले एक–अर्काप्रति आक्रोश पोखे ।
एकपक्षीयरुपमा विभागहरु गठन गरेपछि अप्ठेरोमा परेका देउवाले पार्टीका नेताहरुले सरकारको साटो आफ्नो विरोधमा समय खर्चेको आरोप लगाए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुध्रिनु जरुरी छ भनेरमात्रै नहुने भन्दै के–कसरी सुध्रिनु पर्ने हो भन्ने स्पष्ट हुनु आवश्यक रहेको बताए ।
कांग्रेसले संसदमा प्रतिपक्षको भूमिकासमेत राम्रोसँग निभाउन नसेकेको भन्दै उनले कांग्रेसको कमजोरी त्यही नै भएको बताए ।
कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस आफैं पनि लोभलालच र पदीय स्वार्थबाट बाहिर निस्कन आवश्यक रहेको भन्दै ठूल्ठूला परिवर्तन ल्याउन सक्ने कांग्रेस नेतृत्वले आफ्नो सोच, आचरण र मूल्य–मान्यतामा परिवर्तन ल्याउन नसकेको बताए ।
देउवाले एकपक्षीयरुपमा विभागहरु गठन गरेपछि आक्रोशित पौडेल पक्षले देउवाविरुद्ध भेलाहरु गरिरहेको छ ।
सार्वजनिक कार्यक्रममा नेताहरुको दन्त बझानलाई कांग्रेसमा हुर्किएको गुटगत लडाइँको परिणामका रुपमा लिइएको छ ।
बुधबारै बिहानमात्र नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको पौडेल पक्षको भेलाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्