
काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण पार्टीका भेला, सम्मेलन र सभा जस्ता औपचारिक कार्यक्रम स्थगित गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले नेपालमा पनि कोरोनाभाइरसको जोखिम रहेको भन्दै सतर्कता अपनाउन ठूलो जमघट हुने औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेल स्थगित गरेको जानकारी दिए ।
समायोजन र १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम आन्तरिक रूपमा जारी रहने उनले बताए ।
कोरोना भाइरस संक्रमणको सतर्कताका लागि शहरदेखि गाउँसम्म सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गरिने प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्