२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


कांग्रेस उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने पौडेल समूहको निर्णय


0
Shares

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल समूहको भेलाले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो ।

आफूहरुको असहमति रहँदा रहँदै पार्टी सभापति शेरबहादुर देउवाले २० विभाग र केन्द्रीय सदस्य मनोनयन गरेपछि पौडेल समूह असन्तुष्ट बनेको छ ।

बैठकमा पौडेल समूहका केन्द्रीय सदस्य, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरु र उपसभापतिहरु सहभागी भएका थिए ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले विधानलगायत विषयमा जिल्ला उपसभापतिलाई पार्टी केन्द्रीय कार्यालयमा बुधबार प्रशिक्षण कार्यक्रम राखेको छ ।

भेलालाई सम्बोधन गर्दै नेता पौडेलले महाधिवेशन भाँड्न सभापति शेरबहादुर देउवाले उपसभापतिहरुको प्रशिक्षण आयोजना गरेको आरोप लगाउँदै उक्त प्रशिक्षणमा सहभागी हुन नहुने बताएका छन् ।

महामन्त्री शशांक कोइरालाले पनि प्रशिक्षणले पार्टीको १४औं महाधिवेशनलाई प्रभवित पर्ने भन्दै उपसभापतिहरुलाई सहभागी नहुन आग्रह गरे ।

यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि आफूनिकटका उपसभापतिलाई प्रशिक्षण कार्यक्रममा नजान आग्रह गरे । महाधिवेशन प्रभावित पार्न प्रशिक्षण आयोजना गरिएको जिकिर गर्दै सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन पनि प्रशिक्षणमा जान नहुनेमा जोड दिए ।