Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


ऐतिहासिक सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिएन : मेयर शाक्य


104
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ ।

मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोही अनुसार काम नगरेको आरोप लगाउनुभयो ।

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।

मेयर शाक्यले महानगरपालिकाले सम्पदाहरूको पुनःनिर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरूलाई नै दिने नीति अनुसार काम भइरहेको दोहोर्‍याउनुभयो ।

‘चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं,’ उहाँले भन्नुभयो, ‘सांस्कृतिक सम्पदा संरक्षणको लागि संघीय सरकारले जिम्मेवारी लिएन, हामीले जिम्मेवारी लिएर पुनःनिर्माणको कामलाई तीव्रता दिएका छौं ।’

सो आँगन घर पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

जसअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिनु भयो ।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साँढे १ करोड बजेट लाग्नेछ । २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।