
अक्कल कुँवर र नवीन स्थापित (इमेज)
काठमाडौं, फागुन २० । संघीय संसद राष्ट्रियसभाका ५९ जनामध्ये दुईवर्षे कार्यकाल भएका १९ जना सांसदको पदावधि मंगलबार (आज)बाट सकिएको छ ।
२०७४ साल माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको थियो । गोलाप्रथा प्रणालीबाट दुई, चार र छवर्षे कार्यकाल निश्चित गरिएको थियो ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जना सांसदको पदावधि मंगलबार सकिएको हो ।
संविधानअनुसार व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभा स्थायी सदन हो ।
राष्ट्रियसभामा सात प्रदेशबाट आठजनाको दरले ५६ जना निर्वाचित हुने व्यवस्था छ । तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।
राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदको पदावधि सकिनेमा सत्तारुढ दल नेकपाका आठजना, कांग्रेसका छजना, राजपाका दुईजना, समाजवादी पार्टीका एकजना र एकजना राष्ट्रपतिबाट मनोनीत सांसद छन् ।
कार्यकाल सकिएका सांसदहरुले दुईवर्षे पदावधिमा राष्ट्रियसभाको गरिमा राख्न सफल भएको प्रतिक्रिया दिएका छन् ।
दुईवर्षे पदावधि सकिएका सत्तारुढ दल नेकपाका सांसद बलराम बाँस्कोटाले कानुन निर्माण, जनजीविकाका सवाल उठान र राष्ट्रियताको विषयमा प्रभावकारी भूमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाईंले सत्तापक्ष र प्रतिपक्ष नभनी राष्ट्रियसभाको गरिमा कायम राख्न सफल भएको प्रतिक्रिया दिइन् ।
कार्यकाल सकिएका सदस्य जहाँबाट जसरी चयन भएका छन्, सोही विधिबाट पदपूर्ति गर्ने संवैधानिक व्यवस्था छ ।
१८ जना सांसदको दुईवर्षे कार्यकाल सकिनु ३५ दिनअघि नै माघ ९ गते सातओटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका दुईजना उम्मेदवार निर्वाचित भएका थिए । राष्ट्रपतिबाट मनोनीत हुनुपर्ने एकजनाको भने अझै टुंगो लगेको छैन ।
राष्ट्रियसभाको गठन भएको दुई वर्षपछि राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका ४७ जना, प्रतिपक्ष दल कांग्रेसका छजना, राजपाका दुईजना र समाजवादी पार्टीका एकजना सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्