
विराज रोस्यारा
कैलाली । पछिल्ला दुई वर्षको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च झनै घटेको छ । अघिल्ला दुई आर्थिक बर्षको ६ महिनाको तुलनामा यो बर्ष खर्च थप खस्किएर ८.९ प्रतिशतमा सीमित भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक पुँजीगत खर्च १० दशमलव ३६ प्रतिशत थियो भने आर्थिक वर्ष ७७÷७८ मा पुँजीगत खर्च ११ दशमलव ८५ प्रतिशत भएको थियो । तर चालु आर्थिक वर्षको अर्धवार्षिक खर्च भने ८ दशमलव ९ प्रतिशत मात्रै भएको छ । प्रदेशको जम्मा विनियोजित १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार पुँजीगत बजेटमध्ये १ अर्ब ५७ करोड २० लाख ७२ हजार रुपयाँ मात्रै खर्च भएको छ ।
प्रदेशको सबैभन्दा बढी पुँजीगत बजेट भएको भौतिक पुर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च पनि निकै निराशाजनक देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ अर्ब २८ करोड ४७ लाख तीन हजार रुपैयाँ बजेटमध्ये पहिलो ६ महिनाको अवधिमा एक अर्ब ७९ करोड ४३ लाख ४५ हजार नौ सय ७८ रुपैयाँ (१५ दशमलव नौ प्रतिशत) खर्च गरेको थियो । तर, चालू आर्थिक वर्ष ०७८/७९ मा सो मन्त्रालयका लागि ११ अर्ब ८३ करोड ४४ लाख १४ हजार रुपैया विनियोजन गरिएकोमा पहिलो ६ महिनामा एक अर्ब १६ करोड ७१ लाख पाँच हजार रुपैयाँ (९ दशमलव ८३ प्रतिशत) मात्रै खर्च भएको छ । मन्त्रालयले भने भौतिक प्रगती राम्रै भएपनि वित्तीय प्रगति मात्रै नदेखिएको दावी गरेको छ ।
प्रदेश गौरव तथा बहुवर्षीय योजनामा पर्याप्त बजेट नहुनु, टुक्रे योजनामै बजेट विनियोजन हुने विविध कारणले बजेट खर्च कम देखिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
पहिलो अर्धवार्षिकमा खर्च बढाउन नसकेको प्रदेश सरकारले प्रदेशमा गौरव गर्न लायकको योजना समेत देखाउन सकेको छैन । यस कारण टुक्रे योजना भन्दापनि प्रदेश सरकारले ठुला योजना सञ्चालन गरी प्रदेशबासीलाई विकासको अनुभुति गराउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्