
नेपालगञ्ज, फागुन १९ । छौठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ ।
आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले पहिलो जित निकालेको हो । न्यु डाइमन्डले आयोजकमाथि २५–९, २५–१३ र २५–११ को सेटमा जित निकाल्यो ।
पहिलो खेलमा न्यु डाइमन्ड नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो । जितसँगै न्यु डाईमण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए बाट साविक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मीले अन्तिम चारको यात्रा तय गरिसकेका छन् । समूह ए मा भारतिय टोली नआएपछि वाक ओभर पाउँदै एपीएफ सिधै सेमिफाइनल पुग्न सफल भएको थियो ।
अब सेमिफाइनलमा पुलिस र आर्मी तथा एपिएफ र डायमन्डबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल मंगलबार तथा फाइनल र तेस्रो स्थानको लागि बुधबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नेपालगञ्ज कर्भडहलमा जारी प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्