५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


पाल्पामा बन्द गराउँदै हिड्ने सात प्रदर्शनकारी पक्राउ


182
Shares

भरत शर्मा
पाल्पा । अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको नेपाल बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

तानसेनको आन्दोलन चोकमा जबरजस्ती भेला गराएर सडक अवरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रर्दशनकारी पक्राउ परेका हुन् ।

राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टीकाराम पोखरेल, नेकपा माओवादी(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी लिला क्षेष्ठ, विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी भुवन जिसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक सुदिप विक , नेकपा विप्लव नेतृत्वको युवा संगठनका जिल्ला उपाध्यक्ष बेदप्रसाद विक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष लंक राना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।

सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् ।