
-सरोज अधिकारी र लक्ष्मणमान डंगोल(ईमेज)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र शीर्ष तहमा एकपछि अर्को गर्दै चलिरहेको विवादप्रति जिल्ला सभापतिहरुले असन्तुष्टि जनाएका छन् ।
विभिन्न बहानामा विवाद गर्नुभन्दा संगठन बलियो बनाउने कार्ययोजनासहित कार्यकर्तामा गएर महाधिवेशनमा आफू आउने बाटो रोज्न शीर्ष नेताहरुलाई सभापतिहरुको सुझाव छ ।
एकपछि अर्को विवादमा अल्झिएको कांग्रेस भित्रको विवाद खासै अनौठो होइन ।
पार्टी महाधिवेशन कार्यतालिकाको विषयमा भएको विवाद निरुपण भएको महिना दिन नबित्दै कांग्रेसमा फेरि विभाग गठनको विषय विवादित बनेको छ ।
शीर्ष नेतृत्व पटक पटक विवादमा तानिएपछि नेता कार्यकर्ता समेत अन्योलमा पर्ने गरेका छन् । नेताहरुको विवादप्रति जिल्ला तहको नेतृत्व पनि सन्तुष्ट छैन ।
वर्तमान सरकारको गलत रवैयाबारे आम नागरिकलाई जागरण गराउँदै कार्यकर्तामा उत्साह थपेर नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बेला शीर्ष तह एकपछि अर्को गर्दै विवादमातानिएपछि काँग्रेस कार्यकर्ता र शुभेक्षुक निरास बनेका छन् ।
पार्टी १४ औं महाधिवेशनको संघारमा छ । अब नेतृत्व हेरफेर हुने भएपनि महाधिवेसनबाटै टुंगो लाग्छ । विधि र प्रक्रिया भित्रबाट मात्रै त्यो संभव छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिने कास्की कांग्रेस सभापति कृष्ण केसी अब पनि आरोप प्रत्यारोपको श्रृखला कायम राखेर पार्टी बलियो नहुने भन्दै महाधिवेशनबाट नेतृत्वको टुंगो लगाउनुपर्ने बताउँछन् ।
सार्वजनिक रुपमा एक अर्का नेतालाई गाली गर्नुभन्दा कार्यकर्तामाझ गएर जागरण अभियान संचालन गर्न केसीको सुझाव छ ।
कांग्रेस बहुसंख्यक केन्द्रीय स्तरका नेताहरुलाई महाधिवेशनले छप्पक्कै छोपे जस्तो देखिन्छ । उनीहरुहरु अहिले देश दौडाहमा छन् ।
जहाँ पुग्छन् पार्टी बलियो कसरी बनाउने भन्दा पनि आफ्नो गुट र नेतृत्वको आलोचना गरेर समय खर्चन्छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने दोलखा कांग्रेस सभापति रुद्रबहादुर खड्का पार्टी बलियो भए मात्र नेता बलियो हुने भएकाले प्रचारमा हिंड्दा एकले अर्कोलाई गाली गर्नुभन्दा पनि आफ्ना एजेण्डा मात्र राख्न सुझाव दिन्छन् ।
कांग्रेस भित्रको गुटको लडाईं नयाँ होइन, स्थापनाकालदेखि नै गुटगत स्वार्थमा रमाएको कांग्रेसले बदलिँदो समयसँगै आफूलाई रुपान्तरण गर्न सकेन भन्ने आरोप लाग्ने गरेको छ ।
पछिल्ला निर्वाचनहरुको परिणामले यो आरोपलाई पुष्टि गरेको कतिपयको दावी छ ।
यस्तो अवस्थामा आसन्न महाधिवेशन कांग्रेसले आफूलाई सुधारेर लाने एउटा अवसर पनि बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्