
काठमाडौं, साउन २३ । नेपालमा पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको एक दशक पूरा भएको छ ।
सन् २००८ अगस्ट ८ मा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गाैला प्रत्यारोपण सेवा प्रारम्भ भएको थियो ।
मिर्गौलारोग विशेषज्ञ प्रा. डा. दिव्या सिंह शाह र डेभिड फ्रान्सिसले पहिलोपटक प्रत्यारोपण गरेका थिए ।
उक्त दिनको सम्झनामा बुधबार आयोजित कार्यक्रममा बितेका १० वर्षमा ५०६ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको जानकारी दिइयो ।
जसमा पुरुष किड्नी दाता ६९ प्रतिशत र महिला दाताको संख्या ३२ प्रतिशत रहेको छ ।
मिर्गौला प्रत्यारोपणमा पुरुषको संख्या ८५ प्रतिशत र महिलाको १५ प्रतिशत रहेको जनाइएको छ ।
हेपाटाइटिस तथा भिन्न रगत समूहका जटिल रोगका बिरामीहरुमा पनि सफल मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. उत्तमकुमार शर्माले जानकारी दिए ।
शिक्षण अस्पतालमा हाल हप्तामा दुईपटक मिर्गौला प्रत्यारोपण गर्ने गरिएको छ ।
कार्यक्रममा डा. फ्रान्सिस, डा. शाह, डा. शर्मा, डा. भोला जोशी, डा. महेश खकुरेल, डा. गुणकुमार श्रेष्ठ, डा. प्रेम ज्ञवाली र डा. मोदनाथ मरहठ्ठालाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कदरपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्