२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


छिट्टै सरकार र गठबन्धनको छिनोफानो हुन्छ : पाण्डे


455
Shares

कैलाली । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले छिट्टै सरकार र गठबन्धनको छिनोफानो हुने बताउनुभएको छ ।

एमालेले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुग्नु भएका पाण्डेले एमसीसीका कारण सत्तारुढ गठबन्धन भत्किने अवस्था सिर्जना भएको बताउनु भएकाे हाे ।

संसदबाट एमसीसी पारित हुने र गठबन्धन फरक-फरक कुरा भएको बताउँदै पाण्डेले अहिलेको अवस्थामा गठबन्धन रहने-नरहने विषय एउटै बन्न पुुगेको बताउनुभयो । उहाँले ढिलो चाँडो गठबन्धन र सरकारको छिनोफानो हुुने बताउनुभयो ।

कांग्रेससँग सहकार्य भएमा सहमतिका आधारमा प्रदेश सरकारका बारेमा सोच्न सकिने बताउँदै उपाध्यक्ष पाण्डले आफूूहरू सरकारमा दाबी नगर्ने बताउनुभयो ।

उहाँले अहिले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्ने कुरा सुुन्नमा आएको उल्लेख गर्दै अमेरिकाले उक्त कुरालाई स्वीकार नगर्ने बताउनुभयो । अमेरिकाले एमसीसीका बारेमा स्पष्ट पार्ने तर परिवर्तन नगर्ने कुरा स्पस्ट भएको उहाँकाे दावी छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूमा सडक पनि मेरो, सरकार पनि मेरो भन्ने प्रवृत्ति देखिएकाले अब देश नयाँ कोर्षमा अगाडि बढ्ने बेला भइसकेको समेत बताउनुभयो ।

एमालेले एमसीसीका विषयमा सत्तारुढ दलहरूको धारणा मागिरहेकाले त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएकाे हाे ।