
– ध्रुव भट्टराई/ ईमेज
इलाम । पूर्वी पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माइपोखरी प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
समुद्र सतहबाट १२ सय मिटरको उचाइमा अवस्थित माइपोखरीमा पुग्न सडकको राम्रो पहुँच भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उत्साहजनक देखिएको हो ।
सडकको सहज पहुँच भएसँगै इलामको माइपोखरी बाह्य र आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
हिन्दू, बौद्ध र मुन्धुम धर्मावलम्बीहरुको त्रिपक्षीय संगमस्थल रहेको माइपोखरी बिश्व रामसार सूचीमा समेत सुचीकृत भइसकेको छ ।
पहिले नीलो रंगको माईपोखरी आजभोलि भने हरियो देखिन थालेको छ ।
उच्च पहाडी क्षेत्रमा फैलिएको यस पोखरीको अवलोकन र पूजाआजा गर्न देशविदेशबाट पर्यटक आउने गरेका छन् ।
घाम लागेको बेला आकाश र बादलको छायाँ पोखरीमा छर्लङ्ग देख्न सकिने माइपोखरी वरिपरि सुन्दर सल्लाको वन रहेको छ ।
यो क्षेत्र जैविक विविधताको दृष्टिले पनि सम्पन्न रहेको छ । थरिथरीका जीव तथा बनस्पतीले यहाँको सुन्दरतामा थप मलजल गरिदिएको छ ।
पछिल्ला केही वर्षदेखि यसमा पानीको सतह घट्दै गएकोमा गत असोजयता भने बढ्न थालेको छ । मूल र वर्षाको पानी स्रोत रहेको माई पोखरीमा नौकुना रहेका छन् ।
नवरात्रको दिन नौकुने यस पोखरीमा दुर्गाको नौस्वरुपका रुपमा पूजा गरिन्छ ।
पोखरीमा छाल आए अनिष्ट हुने विश्वासका साथ छाल आएको बेला मन्दिरमा पूजा गरी पोखरीमा दूध चढाउने परम्परा रहँदै आएको माइपोखरी संरक्षण क्षेत्रका कर्मचारी भूमिका लिम्बुको भनाइ छ ।
प्रदेश सरकारले पनि धार्मिक एव पर्यटकिय क्षेत्र यसकोे विकास र सम्वद्र्धनका लागि आवश्यक पहलकदमी सुरु गरेको प्रदेश १ का उद्योग पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियात बताउँछन् ।
धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी यस क्षेत्रमा विशेष गरी हरिबोधिनी र हरिशयनी एकादशीमा भव्य मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्