२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


वामदेवको विषयमा छलफल गर्न नेकपाले डाक्यो सचिवालय बैठक


0
Shares

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने÷नपठाउनेबारे तीव्र मतभेद जारी रहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास निवास बालुवाटारमा बस्ने बैठकमा गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने गत बुधबारको निर्णयलाई कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय मान्न मन्त्रिपरिषद् बाध्य नहुने बताउँदै आएका छन् ।

उनले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा निरन्तरता दिन चाहेका छन् ।

पछिल्लो समय उनले तत्कालका लागि वामदेव र खतिवडा दुबै जनालाई नै सिफारिस नगर्ने मनस्थिति बनाएको बालुवाटार स्रोतको भनाइ छ ।

वामदेवलाई राष्ट्रिय सभामा नपठाउने प्रधानमन्त्रीको अडानमा सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मात्र खुलेर साथ दिएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले मान्नुपर्ने तर्क गर्दै आएका छन् ।