
काठमाडौं, फागुन १७ । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार तत्कालका लागि स्थगित गरेको छ ।
काठमाडौं जिल्ला होटल व्यवसायी संघको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चीनबाट सुरु भएको ‘कोरोनाभाइरस’को संक्रमण युरोपसम्म पुगेपछि सरकारले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको जानकारी दिए ।
मन्त्री भट्टराईले समयअनुकूल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित भएको बताए ।
अमेरिका, चीनजस्ता विश्वका ठूला बजार प्रभावित भएको अवस्थामा आफूहरु पनि गम्भीर बन्ने भट्टराईले बताए ।
नेपालीहरु पनि ठूलो संख्यामा भ्रमणमा निस्कने गरेकाले अब आफ्नै देशमा घुम्न जान प्रेरित गर्ने उनको भनाइ छ ।
नेपालको पर्यटकीय क्षेत्र र होटल व्यवसाय चलायमान बनाउन सरकारले आन्तरिक पर्यटनमा जोड दिने नीति लिने मन्त्री भट्टराईले जानकारी दिए ।
उनले सरकारले विमानस्थल मर्मत र सुधारको काम गरेको जानकारी दिए ।
मन्त्री भट्टराईले सरकारलाई असफल पार्ने षडयन्त्र भइरहेको भन्दै यसलाई चिर्दै अघि बढ्नुपर्ने पनि बताए ।
मुलुकको विकास र समृद्धिका लागि निजी व्यवसायीको भूमिका महत्वपूर्ण रहेको जिकिर उनले गरे ।
प्रतिक्रिया दिनुहोस्