२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुदूरपश्चिम–११ खप्तड गोल्डकपको उपाधिनजिक


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन १७ । आयोजक सुदूरपश्चिम–११ सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम २–१ सशस्त्र

शनिबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै आयोजक टोली उपाधिनजिक पुगेको हो ।

सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई गोल गरे । सशस्त्रका आशिष लामाले एक गोल फर्काए ।

अब उपाधिका लागि सुदूरपश्चिमले थ्रीस्टार र हिमालयन शेर्पा क्लबबीचको खेलको विजेतासित आउँदो मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

सबै गोल मध्यान्तरअघि

घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले सशस्त्रविरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो । विक्रमले डीबक्सभित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

११औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमलाई २–० को अग्रता दिलाए ।

खेलको २४औं मिनेटमा सशस्त्रका आशिषले गोल गर्दै खेल २–१ मा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल भएन ।

बदला

सुदूरपश्चिमले पहिलोपटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।

अघिल्लो संस्करणमा सुदूरपश्चिम सशस्त्रसित नै पराजित भएको थियो । योपटक भने सशस्त्रसित बदला लिँदै सुदूरपश्चिम फाइनल पुग्न सफल भयो ।

खेलको ‘म्यान अफ दी म्याच’ सुदूरपश्चिमका विक्रम चुनिए । उनले नगद १० हजार रुपैयाँ पाए ।

पुरस्कार

प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले १० लाख एक रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एउटा बेनेली मोटरसाइकल प्रदान गरिनेछ । विधागततर्फका उत्कृष्टहरुले १५/१५ हजार रुपैयाँ पाउनेछन् ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी थिए ।