काठमाडौं । काठमाडौको जोरपाटीस्थित नेपाल अपाङ्ग संघमा तीन महिनादेखि लागेको ताला नखुल्दा अपाङ्गता भएका व्यक्तिहरु प्रभावित भएका छन् ।
अपाङग संघको अवैधानिक निर्वाचन खारेज गरी निर्वाचन गर्न माग गदैं उनीहरुले तालाबन्दी गर्दै आएका छन् ।
निर्वाचन गर्ने जिम्मेवारी पाएको गोकर्णेश्वर नगरपालिकालेसमेत निर्वाचन गर्ने तदरुकता नदेखाउँदा तीन महिनादेखि उनीहरुको दैनिकी झनै कष्टकर बन्दै गएको छ ।
अपाङ्गता भएकाहरुको हक, हित र संरक्षणको लागि खोलिएको नेपाल अपाङ्ग संघ आफैमा अपाङ्ग बनेको हो ।
आन्तरिक द्वन्द्वमा फसेको संघले पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरुको हितमा काम गर्न सकेको छैन् । नेपाल अपाङग संघ खगेन्द्र नवजीवन केन्द्र तीन महिनादेखि तालाबन्दीको अवस्थामा छ ।
अपाङगता भएका व्यक्तिहरुले वर्तमान अध्यक्ष धनजुजु श्रेष्ठले आफूखुशी गरेको अवैधानिक निर्वाचन खारेज गरी नयाँ निर्वाचन नगरेसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिदै आएका छन् ।
त्यसो त स्थानीय निकायको रेखदेख गर्ने जिम्मेवारी पाएको गोकर्णेश्वर नगरपालिकालेसमेत आफूहरुसँग समन्वय नगरी धनजुजु श्रेष्ठले गैरकानुनी ढंगले आफूखुसी निर्वाचन गरेको भन्दै वैधानिक निर्वाचन गर्ने प्रतिवद्धता जनाएको छ ।
तर, प्रतिबद्धता अनुसारको नगरपालिकाले पनि निर्वाचन गर्न तदरुकता देखाउन नसक्दा समस्या झनै जटील बन्दै गएको छ ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले निर्वाचन गर्नकोलागि आवश्यक निर्देशन दिइसकेको भन्दै चाँडै निर्वाचन गरी नेपाल अपाङ्ग संघलाई पुर्नजिवन दिने बताए ।
अपाङ्गता भएका व्यक्तिरुले भने बैधानिक निर्वाचन हुन नसक्दा संघको कामकाज ठप्प भएको, तलब रोकिएको र अपाङ्ता भएका व्यक्तिहरुको दैनिकी अस्तव्यस्त भएको भन्दै सरकारले अपाङ्ता भएका व्यक्तिहरुमाथि खेलबाड गरेको भन्दै धैर्यता टुट्न सक्ने चेतावनी दिएका छन् ।
वैधानिक निर्वाचन हुन नसक्दा संघ भित्रको भ्रष्टाचार र अनियमिततामाथि पनि छानविन हुन नसकेको उनीहरको भनाइ छ ।
लामो समयसम्म तालबन्दी हुँदा र नेपाल अपाङ्ग संघ अस्तब्यस्त हुन थालेपछि स्थानीय बासीन्दाले पनि चासो दिन थालेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको नाममा आएको बजेटमाथि भ्रष्टाचार गरिनु घिनलाग्दो भएको भन्दै छानविनको लागि पनि माग गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण गर्नु र उनीहरुको आवाजलाई सम्बोधन गर्नु सबैको दायित्व हो ।
तर, पछिल्लो समयमा उनीहरुमाथि थिचोमिचो र उनीहरुको नाममा आएको बजेटमाथि राजनीति हुँदा समस्या बढ्दै गएको छ ।
त्यसैले पनि उनीहरुको हक अधिकारको संरक्षणका लागि अपाङ्ग संघभित्र देखिएको समस्या चाँडै समाधान गरी यसलाई गति दिनु गोकर्णेश्वर नगरपालिकाले चासो देखाउनु जरुरी छ ।








प्रतिक्रिया दिनुहोस्