
कैलाली, फागुन १६ । हिमालयन शेर्पा क्लब कैलालीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
गोलरक्षक टेकेन्द्र नायक
धनगढी रंगशालामा निर्धारित् समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाएका थिए । त्यही पेनाल्टी बचाउँदा शेर्पा अन्तिम चारमा पुग्यो ।
शेर्पाले सेमिफाइनलमा आउँदो आइतबार थ्रीस्टार क्लबसित खेल्ने छ ।
पहिलो सेमिफाइनल शनिबार
शनिबार हुने पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने छन् ।
प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख एक रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्