काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
गएराति बौद्धबाट घर फर्किनुभएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राति गाडीबाट लडेर बेहोस भएपनि परिवारजनले बिहान मात्रै उहाँलाई देखेको बताईएको छ ।
लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।
वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा जन्मिनुभएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गर्नुभएको थियो ।
उहाँले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, हेर्दामा राम्रो, सुर्तिको ठुटो, मुलाको चानालगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।
सर्जक तथा स्रष्टाहरुले उहाँको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उहाँ अभिनयमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले दर्जनौं चलचित्रमा अभिनय गर्नुभएको थियो ।






प्रतिक्रिया दिनुहोस्