Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


युक्रेनबाट छुट्टिएको घोषणा गरेका दुई क्षेत्रलाई रुसले दियाे मान्यता


585
Shares

काठमाडौं । पश्चिमा देशहरुलाई थप तनाव दिनेगरी रूसले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका दुई वटा क्षेत्रलाई मान्यता दिएको छ ।

गएराती टेलिभिजनबाट सन्देश दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा अवस्थित डोनेस्क र लुहान्स्कलाई छुट्टै देशको मान्यता दिने र उनीहरुसँग कूटनीतिक सम्बन्ध गाँस्ने घोषणा गर्नुभएको हो । त्यस लगत्तै राष्ट्रपति पुटिनले ती दुई क्षेत्रमा रुसी सेना पठाउने आदेश पनि जारी गर्नुभएको छ ।

डोनेस्क र लुहान्स्कको अधिकांश क्षेत्र रुस समर्थित पृथकतावादीहरुको नियन्त्रणमा रहेको छ । पुटिनले रूसी रक्षा मन्त्रालयलाई डोनेस्क र लुहान्स्कमा शान्ति कायम गर्न सैनिक पठाउन आदेश दिनुभएको हो । टेलिभिजन सम्बोधनका क्रममा पुटिनले युक्रेनको छुट्टै इतिहास नरहेको भन्दै युक्रेनलाई रुसको अभिन्न अंग भन्नुभयो ।

रुसी राष्ट्रपति पुटिनको आदेशलगत्तै डोनेस्क शहरमा बख्तरबन्द गाडीहरु देखिएको सञ्चार माध्यमहरुले बताएका छन् । पुटिनको आदेशले युक्रेनी सिमानामा रुसी सैनिक प्रवेशको बाटो खुलेको छ भने युक्रेनलाई थप घेराबन्दी गर्ने रुसको चाल पनि प्रष्ट भएको छ । उता, अमेरिकाको मागअनुसार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बाेलाइएकाे छ ।

डोनेस्क र लुहान्स्कमा रुसी सेनाको उपस्थितिको विषयमा सुरक्षा परिषदमा छलफल हुनेछ ।