राष्ट्रियताको लागि रगत उम्लनु अस्वाभाविक होइन « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


राष्ट्रियताको लागि रगत उम्लनु अस्वाभाविक होइन


416
Shares

जन्मभूमिको माया नहुने मान्छे कमै हुन्छन् । जसलाई आफ्नो देश भन्दा ठूलो अरू लाग्दैन उसले आफ्नो आँगनको माया गर्छ । आफ्नो शालनाल गाढेको माटोमा विशेष स्नेह पोख्छ । जतिसुकै कठिन र अत्यासलाग्दो जिन्दगी गुजार्नुपर्ने ठाउँ भए पनि जन्म स्थलको माया हाम्रो रगतमा रहन्छ । मुटुमा माटोको माया र आँखामा जन्मस्थल नित्य निरन्तर रहन्छ । हाम्रो भौगोलिक अवस्थिति एकैनासको छैन र प्राय एकनासको अवस्थिति कमै हुन्छ तर तराई, पहाड, हिमाल, सहर, गाउँ जतासुकैको भए पनि देशको माया आफ्नो सीमा र भूगोलको माया कसैको घटीबढी छैन । समान छ । स्तुत्य छ । अतुलनीय छ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ एउटा प्रसिद्ध भनाइ नै जन्मभूमिको प्रसंग आउँदा सर्वत्र निस्कन्छ, प्रायः सबैले प्रयोग गर्छन् । जन्मभूमि स्वर्ग भन्दा प्रिय र काम्य हुन्छ । यदि जन्मभूमिको माया हुँदैन थियो भने देउथलमा भक्ति थापा ७० वर्षको उमेरमा पनि वालवालिका, बृद्धबृद्धा, केटाकेटी लिएर युद्धको मैदानमा जाँदैनथे । त्यो वीरता र शुरताको इतिहास पढेर सुनेर त्यो रगत आफ्नो शरीरमा लिएर आएका नेपाली देशघाती कुनै पनि कुरा सुन्ने बित्तिकै क्रोधाग्नीले बल्छन । रगत उमाल्छन् । रिसले चुर भएर प्रतिक्रिया व्यक्त गर्न हतारिन्छन् । हतार देशको मायाको खातिर नै हो । देशको अगाध मायाको कारण नै आफ्नो जन्मभूमिको माटो परदेशमा बस्दा पनि चन्दन सम्झेर लगाउने र सिरानीमा राखेर सुत्ने धेरै नेपाली छन् । मातृभूमिको मायाले परदेशबाट फर्कंदा पहिले जहाजबाट ओर्लने बित्तिकै आफ्नो माटो ढोग्ने नेपाली पनि छन् ।

यी सब भावनात्मक सम्बन्धको कारण देशको माया नै हो । लिपुलेक र कालापानी भारतले मिच्दा पनि नेपाली खुकुरी बोकेर सीमासम्म पुगेका छन् भने त्यहाँ जान नसक्नेहरू मातृभूमि मिचिएकोमा आफ्नो छाती थिचिएको सम्झेर भारीमन लिएर उकुसमुकुसका साथ मनमा क्रोधको ज्वाला दन्काउदै बसेका छन् । अतः नेपालीको लागि राष्ट्रियता ख्याल –ख्यालको विषय होइन आफ्नो खेतबारी अंश जत्तिकै प्यारो र अधिकारपूर्ण छ । नेपालको नक्शामा कालापानी, लिपुलेक, नाभी र गुन्जी समेटेर नक्शा प्रकाशित गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पाएको विश्वास र जनताले दिएको भरोसा राष्ट्रप्रेमको ज्वलन्त उदाहरण र समर्थन हो । नाकाबन्दी २०७२ मा पनि जनताबाट ओलीले अपार समर्थन पाएर राष्ट्रवादको जामा लाउन सफल भएका थिए ।

आमाले जसरी भरणपोषण गरेर सन्तानलाई हुर्काएकी बढाएकी हुन्छिन् त्यस्तै भूमिका आफूलाई जान दिने भूमिको पनि हुन्छ । तसर्थ जमीनसँग र आमासँग विशेष लगाव र झुकाव हुन्छ । प्रगाढ स्नेह हुन्छ । जन्म भूमिप्रति विशेष कर्तव्य र भूमिका हुन्छ । यसर्थ जन्मभूमि नेपालप्रति कसैले अपशब्द बोले,हेला, होचो गरे हामी सडकमा निस्कन्छौ । हाम्रो स्वाधिनता र संप्रभुतामा आँच आउने र आयो भन्ने सूचना प्राप्त हुँदा आगो बाल्छौ त्यो बारम्बार गर्दै आएका छौं । अहिले पनि हामी देशभक्तिले ओतप्रोत भएर नेपाल बन्ददेखि अनेकन प्रदर्शन विरोध ढुङ्गा हानाहान, लगायतका प्रदर्शन गरेर काठमाडौँ अस्तव्यस्त बनाइरहेकाछौ ।
देश एमसीसीमय भएको छ । एमसीसीरूपी आँधीबेहरीले देश चलायमान भएको छ । यसको विरुद्दमा र समर्थनमा नबोल्ने र नजान्ने कोही छैन । कठिन अंग्रेजी भाषामा यसको सम्झौता लेखिएको भए पनि धेरै नेपालीलाई यसको सार वस्तु बारे ज्ञान छ । मानौ त्यो अंग्रेजी आम नेपालीको भाषिक पहुँचको विषय हो यसबारे नाजन्ने कोही छैन ।

यसरी देशका पार्टीहरू र नेताहरुले एमसीसी सम्झौताबारे प्रशिक्षित गरेका छन् । यो हाम्रो संविधान भन्दा पनि सजिलो सामान्य नियम र ऐन भन्दा पनि सहज छ । यसमा लेखिएको विषय यो देशघाती सहयोग परियोजना हो । यो परियोजना मार्फत अमेरिकी सेना नेपाल आउने र चीनको रेकी गर्नेदेखि हाम्रो जल सम्पदा रित्याउने, वनजंगल सखाप पार्ने,चराचुरुंगी मार्ने, जडीबुटी खत्तम पार्ने,हाम्रो देशमा मुस्तांग लगायत जिल्लामा रहेको युरेनियम खोतल्ने ग्यास लैजाने र हामीलाई दास बनाएर हाम्रो अस्तित्व सकाउने अमेरिकी दाउ बारेमा अनविज्ञ कोही छैन । सबै यस्तै –यस्तै कुरा बारे प्रशिक्षित छौं ।

राष्ट्रको स्वाभिमान भन्दा हाम्रालागि अर्को ठूलो र मूल्यवान वस्तु केही छैन । यो सत्य हो । यद्दपि हामी किन र कसरी जागिरहेछौ ? हामी स्वविवेक र ज्ञानले उचालिएका छौं कि, कसैको गोटी र स्वार्थको लागि देशभक्तिको व्यानरमा आफ्नो मुर्खता प्रकट गरिरहेछौ ? यो अहम् प्रश्न र सवाल हो । हाम्रो भावना र संवेदनशील विषयमा कसैले हामीलाई गोटी बनाइरहेका त छैनन् ? बुझेर बिरोध गर्नु र हा हा र लह–लहैमा बिरोध गर्नु फरक कुरा हुन् । हामीले एमसीसी बिरोध प्रदर्शन गर्न आउनेको प्रतिनिधि भनाइ र तिनलाई पढाइएको र घोकाइएको कुरा सुन्दा कतिपय अचम्म र अनौठा कुरा गरेर ल्याइएको पनि पाइन्छ । जुन अत्यन्तै आपत्ति जनक र खेद जनक कुरा हो । कसैको अज्ञानता र अबोधपनलाई प्रयोग गर्नु एकदम नीच कर्म हो । अबोधपनलाई हतियार बनाउनु र गलत तथ्यलाई लुकाएर असल देखाउने दुवै कुरा र दुवै पक्षका हर्कत निकृष्ट विचार र व्यवहार हुन् । राष्ट्रियता अत्यन्तै सम्वेदनशील र गम्भीर विषय हो, जसले हामीलाई तुरुन्तै आवेगी र क्रोधी बनाउँछ । हामी सब थोक छोडेर पनि राष्ट्रियताको पक्षमा लामबद्ध बन्छौ । २०६८ सालमा डा. बाबुराम प्रधानमन्त्री हुँदा शुरु भएको एमसीसी आजसम्म धेरै प्रधानमन्त्री र अर्थमन्त्री सबै पार्टीका सरकार हुँदा आएको अघि बढेको र एउटा परियोजना हो ।

तर यो परियोजना स्वार्थनुकुल अघि बढ्ने र सत्ता स्वार्थमा बाधा हुँदा राष्ट्रियता माथिको खतरा बुझ्नु जस्ता कुराले हामी विषयलाई कसरी प्रयोग र जजमेन्ट गर्छौ भन्ने कुराको ज्ञान दिन्छ । हामी अनुकुल र प्रतिकुल अवस्थामा किन अलग अलग अडान र लचकता प्रस्तुत गर्छौ ? एकातिर सम्झौता गरेर अर्को तिर विरोध किन ? कतै प्रतिरोध कतै मौन स्वीकृति कसरी ? समस्याको उठान र बैठान गर्ने हाम्रो स्वार्थ अनुकुल कुरा आपत्तिजनक कुरा हो । हामी व्यक्ति, पार्टी, गुट झुकावको स्वार्थलाई प्राथमिकतामा राखेर देशको स्वार्थलाई गौण बनाउँछौं । हाम्रा नेताहरूले दोहोरो भूमिकामा बसेर जे गरि रहनु भएको छ जसो गरि रहनु भएको छ, त्यो एकदमनै खेदजनक छ । सत्तामा बस्दै सडकमा कार्यकर्ता पठाउँदै गरिएको कुरा शक्तिको दुरुपयोग गर्दै कार्यकर्ता पिटाउँदै जे गर्नु भएको छ त्यो अनैतिक र अव्यवहारिक छ । विगतमा के बोलियो आज के गरियो, बेलुकी बोलेको बिहान किन उल्टियो यस बारे गम्भीर बहस छलफल कमजोरी या सबलता बारे जानकारी नगराइ सडकमा कार्यकर्ता लड्न पठाउनु र आफै सत्तामा बसेर टाउको फुटाउनु गोली हान्नु बुट बजार्न लगाउनु कति शोभनीय कुरा हो ? राजनीति यति घीन लाग्दो यति अनैतिक र यति अनौठो बन्नुको पछाडि रहेको कारण र अन्तर्य भोलि झन् नग्न हुँदा नेताहरूको विश्वसनीयता कस्तो देखिएला ? पार्टीहरूको भविष्य र भाग्य परिवेश र अवस्था कस्तो हुन्छ ? यसको जबाफ नेताहहरूसँग छ ? राष्ट्रघाती को राष्ट्रवादी को ? एकै विषयमा दुई र फरक– फरक धारणा किन आउँछ ? राष्ट्रिय विषय र यस्तो विकराल समस्या भएको विषयमा मौन रहनु, धारणा नबनाउनु र आफ्नो पोजिसन क्लियर नगर्नुको अर्थ र उदेश्य के हो ? खराब र गलत रहेछ भने त्यो फेल गराउन र सही छ भने व्यापक विरोधको वावजुद पनि पास गरेर यसको वास्तविकता बुझाउन प्रयास नगर्नु कस्तो राजनीति हो ?
राजनीतिको पछि लागेर देशका बुद्धिजिवीले पनि भ्रम र वास्तविकता बताउने आफ्नो धर्म र कर्तव्य विर्सनु पनि राष्ट्रघात नै हो ।

एमसीसी गिजोल्न बुद्धिजिवीको भूमिका पनि त्यतिकै देखिन्छ जति खराब राजनीतिज्ञको ? समस्या बल्झाएर उल्झाएर बिदेशीको क्रिडास्थल बनाउन भूमिका खेल्ने पार्टी र नेताहरू तिनलाई प्रवद्र्धन हुनेगरि लेख्ने बोल्ने बुद्धिजीवी नै देशकालागि घातक तत्व र प्रवृतिहरू हुन् । थरि– थरिका चरित्र र विशेषताको पटाक्षेप अझै कतिपटक र कतिजनाको हेर्नुपर्ने हो ? एउटा दृश्यको पर्दा खसेर अर्को दृश्यको पर्दा लागेको छ । पर्दा खस्ने र लाग्ने खेल निरन्तर चल्ने र चलाउने अदृश्य हात रहुन्जेल नेपाल एमसीसी पास गरे पनि नगरेपनि अशान्त हुने बिथोलिने र गिजोलिने निश्चित छ । त्यसैले देशलाई अर्काको क्रिडास्थल बनाउन र नेतालाई स्ट्राइकरको गोटी नबनाउने बनाउन बुद्धिजीवी प्राज्ञिक व्यक्तिहरूको भूमिका र कर्तव्य महत्वपूर्ण हुन आउँछ । प्रत्येक नागरिक र व्यक्तिको राष्ट्रप्रति गहन र गुरुत्तर दायित्व छन् ती सबैलाई सबैले निर्वाह गरौ निकास निस्कन्छ । देशलाई समस्याको जन्जिरबाट मुक्त गर्न सबैले ठण्डा दिमागबाट सोच्नु अपरिहार्य छ ।

नेपाली हामी रहौलाकहाँ नेपालै नरहे ।

उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।