
धरान, फागुन १३ । मच्छिन्द्र क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले पाहुना टिम भारतको सण्डे एफसी कोलकतालाई ६–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
मच्छिन्द्रको जितमा विमल घर्तीमगरले ‘ह्याट्रिक’ पूरा गरे भने विशाल राईले दुई गोल र रेजिन सुब्बाले एक गोल गर्न सफल भए ।
विमल ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
मच्छिन्द्र र नेपाल पुलिस क्लब फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेसँगै ‘२२औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप’को सेमिफाइनल समीकरण पूरा भएको छ ।
बुधबारको पहिलो सेमिफाइलन खेल भारतको युके एफसी र मनाङ–मर्स्याङ्दी क्लबबीच हुँदैछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्