१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


‘माछा देख्दा दुलामा हात,सर्प देख्दा पाखामा हात’


143
Shares

पहिला नेकपा माओवादी केन्द्रमा रहेका तर हाल विवेकशील साझामा आवद्ध भएका एक जना नेता भन्दै थिए –‘कमरेड प्रचण्ड आफूलाई रुसका क्रान्तिकालीन भिआई लेनिनसँग तुलना गर्छन् तर उनको राजनीति अहिले जो कोही नागरिकले देख्दा लाजको पसारो भएको छ । प्रचण्डको राजनीति गर्ने शैली केटाकेटीले पनि नपत्याउने गरी ‘माछा देख्दा दुलामा हात, सर्प देख्दा पाखामा हात’ भनेझैँ देखिन्छ

यो त भयो स्पष्ट पाराले राजनीतिक विश्लेषण गरिदिने ती नेताको नेकपा माओवादी केन्द्रका सदाबहार नेता औ सुप्रिमो प्रचण्डमाथि गरिएको मीमांशा । बाहिर रहेका नागरिकहरूले हेर्दाचाहिँ के देखियो भने सर्पले सर्पको खुट्टा देख्छ रे ! जनताले हेर्दा यी दुवै मनुवा कुनै जमानाका एकै पार्टीका नेता र कार्यकर्ता हुन् । अहिले हेर्दा नागरिकलाई लाग्यो ‘न प्रचण्डले भनेझैँ सिष्टम मुलुकमा आयो न ती पूर्व माओवादी नेताले भनेझैँ उनको पूर्व पार्टीका सुप्रिमो जनताको राजनीतिमा अब्बल नै प्रमाणित भए ।’यो सबै समयको खेल हो । अहिले प्रचण्ड ‘पानी माथिका माछा’झैँ निरीह भएका छन् । उनलाई स्थानीय तहको निर्वाचन आफू सम्मिलित गठबन्धन सरकारले आगामी २०७९ बैशाख ३० गते घोषणा गरेको बाहिर अन्य पार्टीहरूसँग लोलोपोतो मिलाउनका लागि सकारात्मक भने तापनि भित्रिरूपमा चित्त बुझेको छैन । कतै आफ्नो राजनीतिका जब्बर दुस्मन बनेर निस्किएका पूर्व नेकपा अध्यक्ष तथा हात एमाले अध्यक्ष केपी शर्मा ओली महोदयले वर्तमान सत्ताका नायक शेरबहादुर देउवासँग चोचोमोचो बढाएर आफूलाई पत्तासाफ पार्ने त होइनन् भन्ने चिन्ता/चासो दुवै रहेको छ ।

भनिन्छ, ‘एउटा दूरदर्शी राजनेतालाई भविष्यको अपार चिन्ता हुन्छ, तर राजनीतिज्ञहरूलाई सधैँ चुनावकै मात्र खाँचो रहन्छ ।’ अहिले मुलुकमा भएको यही हो । ‘आफू भए पार्टी ठिक आफू नभए समग्र पार्टी बेठिक’ भन्ने रोग राप्रपामा कमल थापाले हालै उनको पार्टी परित्याग गरेको घटनाबाटै प्रष्ट भयो । यो पदमा रहिरहने मनोदशा हो –उनको । राजनीतिलाई पदमै रहेर मात्र अगाडि लैजान सकिँदैन न कि असल र अग्रगामी काम गरेर जनताको दिल र दिमागमा रहिरहन सक्नुपर्छ ।

बजार एम्सीसीले पिटेको छ । समाचारका स्कूप र कोटहरू सानाठूला व्यापारी, नेता, प्राध्यापक, कलाकार र अन्य विविध सामाजिक जन जीवनमा नाम कमाएका व्यक्ति र प्रवृत्तिहरूले वाद, विवाद र प्रतिवाद गर्दै भनेका भनाइहरूले समाचारका बजार छपक्कै ढाकेका छन् । ठन्डा दिमागले सोचिल्याउँदा के देखिन्छ भने यो नयाँ सिष्टममा राजनीतिक खेल खेल्न थालेको करिब एक दशक समयावधिमा मुलुकका प्रदेश सरकारहरू सबैभन्दा बढी सत्ता समिकरणका लागि अराजक भैदिए ।
आफ्नो सरकार टिकाउनका लागि प्रदेश १ र बागमती प्रदेश समेतले मन्त्रालय फोर्ने कामदेखि कर्णाली प्रदेशका सरकार प्रमुखहरूले अझै सरकारलाई समावेशी तवरले पूर्णता दिन सकेका छैनन् भन्ने व्यापक जनगुनासो रहेको देखियो । करिब ३ महिनाभन्दा बढी समय भैसक्दा समेत मन्त्रिमण्डलले पूर्णता नपाउनु लाजमर्दाे कुरा हो ।

मुलुकको व्यापार घाटा बढेर वार्षिक बजेटकै रुप लिएको अवस्था छ । कूल व्यापारको ८७ प्रतिशत आयात र १३ प्रतिशत मात्र निर्यातको ग्राफ देखिन्छ । देशमा काम र माम नपाएर १३ सयदेखि १५ सय युवाहरू प्रतिदिन विदेशिएका छन् । कूल गार्हस्थ उत्पादनको (जिडिपी)ग्राफ क्रमशः घट्दो छ ।

कृषिजन्य उद्योगमा मुलुकले यतिका वर्षहरूमा उल्लेख्य उन्नति गर्न सकेन । फलतः दाल, चामल, तेल र फलफूल समेत आयात गर्नु पर्ने लाजमर्दो स्थिति रहेको छ । देशमा लाखौं हेक्टर भूमि बाँझो छ, तर सरकारको त्यसलाई हराभरा गर्ने योजनामा पानी फेकिँदो छ । मुलुकको विकास बजेटको १७ प्रतिशत रकम समेत पुस मसान्तसम्म खर्च भएको देखिँदैन । यसले मुलुकमा ढिलोचाँडो समस्या निम्त्याउँछ भन्ने आंकलन अर्थशास्त्रीहरूले गर्न थालेका छन् ।जानकारहरूका शब्दमा एउटा मन्त्रालयलाई सबै प्रकारका खर्चले धान्न वार्षिक रूपमा १ अर्व रूपैयाँको बजेट आवश्यक पर्दछ अहिले मनलाग्दी मात्रामा प्रदेश सरकारहरूले मन्त्रालय फुटाउने काम गरिरहेका छन् । जुन काम जनताका दृष्टिमा नकारात्मक बनेर रहँदा छन् ।

एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने वर्तमान गठबन्धन सरकारको निर्णय जनताका नजरमा सामयिक देखिन्छ । यो पाँच वर्ष स्थानीय सरकारहरूले आफ्नो तह र क्षेत्रमा आधारभूत रूपले स्थानीय तहको जग बसाउने काम गरेका छन् । भोलि निर्वाचित भएर आउने नयाँ या पुनः दोहोरिने यिनै जनप्रतिनिधिहरूलाई समेत अहिले केही अपवाद बाहेकका प्रायः सबै स्थानीय तहहरूले गतिलो उदाहरण बनेर काम गरेका छन् । यद्यपि देशैभरिमा भने बाटोघाटो, पुलपुलेसा, खानेपानी, विद्यालय, भ्यू टावर, बजार बिस्तार र धेरैजसो भौतिक विकासलाई नै प्राथमिकता दिएर काम भएगरेको पाइयो । तर पनि तिनीहरूलाई जनताले स्वस्थ्य आलोचना गरेर बाटो देखाउने काम भने गरेका छन् ।

यही नै फरक हुँदो रहेछ एकात्मक र बहुलवादी राज्य प्रणालीमा । बहुलवादमा वाद, विवाद, प्रतिवाद र संवादको संस्कृतिले बढावा पाउँदो रहेछ भने एकात्मक राज्य प्रणालीमा भने हिजो राजाको चाकरी गर्ने टाउके÷लाउकेहरू मात्र शासनको इर्दगिर्दमा रहेर राज भजनका अलाप गाउने गर्थे । आज जो, जसले, जसको पनि खुला विरोध गर्न पाएका छन् । चित्त नबुझेका कुरा र टिप्पणी प्रकट गर्नका लागि कुनै राजनीतिक पार्टीका मञ्चै कुरिरहनु पर्दैन । बुझ्ने गरी दनक दिन सामाजिक सञ्जाल नै काफी छ । न विज्ञापन न पेनिटेसन !

खुला समाजको विशेषता भनेकै हरेक मानिस जो कोही सामान्य मानिसको नजरमा मूल्याङ्कनको कसीमा चढिरहेको हुन्छ । सञ्चार माध्यमका आँखाहरू अहोरात्र नाम चलेका व्यक्ति– व्यक्तित्वहरू उपर परिरहेका हुन्छन् । कसैले कसैलाई छल्छु, ढाँट्छु र गुमराहमा राख्छु भनेर सक्दै– सक्दैन । सबैले सबैका कुराहरू पारदर्शी रूपमा देखिरहेका /नियालिरहेका हुन्छन् ।
संविधान बन्नासाथ चुलिएको हाम्रा नेताहरूको शाख तल झर्न दसकौं समय पनि लागेन । यही एक पटकको स्थानीय, प्रदेश र संघको चुनावबाटै सबै छर्लङ्ग भए । अझ बेला बेलामा हुने केन्द्रीय सरकार गठन –विघटन, दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा भएको आक्कासिँदो मूल्य वृद्धि, संसदीय कारबाही, अदालतका बेला– बेलाका फैसलाहरू, सरकारले गर्ने राजदूत नियुक्ति र संवैधानिक अङ्गका पदाधिकारीहरूको चयनबाटै कुन पार्टी कति पाइनमा छन् भन्ने कुरा जनताले आम सञ्चार जगत्बाटै छर्लङ्ग थाहा पाउँछन् ।

यो मानेमा हामीकहाँ प्रविधिको विकास भएको देखियो । आम मानिसहरूको पठन र विश्लेषण संस्कृति विगत् एक दशक यताको समयमा ह्वात्तै बढेको छ । खान, लाउन, सवारी साधन प्रयोग र बोल्नमा मात्र होइन सन्तानका शिक्षादीक्षामा समेत मानिसहरू धेरै ‘फारबेटर’ सोच्न सक्ने भए । देशविदेशका कुरालाई आफ्नो जीवनमा सामान्यीकरण गरेर सोच्ने शैलीले समेत अहिले नागरिकको ठूलो तप्का ‘ह्वाई कल्चर’ (किन संस्कृति) मा रमाउन थालेको छ । यो कुराले मुलुकको राजनीतिक र सामाजिक चेतनाको दृश्य हल्का बढेको देखाउँछ ।

नागरिकमा भन्दा बरू नेतृत्व तहमा अध्ययन, मनन र विश्लेषण कल्चर कम भएर गएको देखिन्छ । एक सामान्य अध्ययनले देखाएको छ – ‘नागरिकहरू अब कुनै कुराहरूलाई अन्धसमर्थन गर्नुभन्दा आलोचनात्मक चेत पालेर के, किन, कसरी, कहाँ र कस्को ? भन्ने मनज्ञानले सोध्न सक्ने भैसकेका छन् । जब नागरिक तहबाट यस्ता पुच्छ्रे प्रश्नहरू सोधिने संस्कारको विकास हुन्छ अनि नेताहरूले जनतालाई जहिल्यै भाषणको सिकन्जामा बटारेर उल्लु बनाउने प्रवृत्तिको अन्त्य हुँदै जान्छ । त्यो बेलामा उही अघि भनिएझैँ ‘माछा देख्दा दुलामा हात, सर्प देख्दा पाखामा हात’ गर्ने दुई जीब्रे परम्पराको भने एकाएक अन्त्य हुन्छ । अतः नेताहरू सजग हुने बेला जो आएको छ ।

अहिले यही आरोप गठबन्धनका सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई लागेको छ । यो आरोप यी नेताहरूको वर्तमान कार्यशैली देखेरै लागेको हो । यो कुरा आम मानिसले विभिन्न माध्यमहरूबाट भनिराखेका छन् ।