
रक्षा बज्राचार्य र नरेन्द्र मानन्धार (ईमेज)
काठमाडौं, फागुन ९ । महाशिवरात्रि भन्ने बित्तिकै गाँजा पनि संगसंगै आउँछ । शिवभक्तहरु र विशेष गरी साधु सन्तहरुले गाँजालाई भगवान शिवको प्रसादको रुपमा लिने गर्दछन् ।
अन्तर्राष्ट्रिय लागूऔषध सन्धीमा हस्ताक्षर गरेको नेपालको कानुनमा पनि गाँजा खेती तथा सेवन प्रतिबन्धित छ । पूर्वीय संस्कृतिमा गाँजालाई स्वीकृत लागूपदार्थका रूपमा लिइएको छ ।
नेपाली र भारतीय संस्कृतिमा त गाँजा अपरिहार्य वनस्पतिको रुपमा स्वीकार्य छ । विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरहरूमा यसको प्रयोग हुने गर्दछ । महाशिवरात्रीमा शिवालय र मठ मन्दिरमा गाँजा प्रयोग निरन्तर भइरहेकै छ । संयुक्त राष्ट्रसंघका अनुसार संसार भरिका करिब ३ दशमलव ८ प्रतिशत मानिसले अहिले पनि गाँजा प्रयोग गर्छन् । आयुर्वेदमा गाँजाको बहुप्रयोग बयान गरिएको छ भने आयुर्वेदिक औषधीहरुमा यसको प्रयोग हुदै आएको छ ।
गाँजामा दुखाइ कम गर्ने, भोक जगाउने, अनिद्रा हुन नदिने, शीघ्र स्खलन रोक्ने र क्यान्सर उपचारमा निकै उपयोगी गुण रहेको आयुर्वेदिक चिकित्सकहरुको दावी छ । पछिल्लो अनुसन्धानले गाँजाको प्रयोगले मानव शरीरका भित्री अंगहरुलाई क्षति पु¥याउने संभावना ५ प्रतिशत भन्दा तल रहेको देखाएको छ ।
जबकी आम रुपमा प्रयोग हुने मदिराको उक्त खतरा ३५ प्रतिशत रहेको छ । अर्कोतर्फ गाँजाको पात तथा डाँठलाई कागज तथा लत्ता कपडाको कच्चा पदार्थको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
अमेरिका र क्यानाडाका शोधकर्ताहरूले सन् २०१६ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार उदासीनता, निराशा, चिन्ता र आघातजन्य घटनापछिको तनावमा गाँजाको प्रयोगले सकारात्मक असर ल्याएको दावी गरिएको छ । कुनै समय नेपालको गाँजा विश्वभर प्रख्यात थियो भने गाँजा नेपालको अर्थतन्त्रको बलियो आधार पनि थियो ।
अन्तर्राष्ट्रिय सम्झौताका कारण त्यो आधार समाप्त पारियो । गाँजा बहुउपयोगी छ भन्ने कुरा अहिले वैज्ञानिक रुपमै स्वीकारिएको छ । विश्वका विभिन्न देशहरुले गाँजाको ब्यावसायिक खेती गरिसकेका छन् ।
नेपालले पनि अब गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने र यसलाई नियन्त्रित रुपमा खेती गरी फाइदा लिनेतर्फ ध्यान नदिने हो भने हाम्रो मौलिक वनस्पति अरुले हाईज्याक नगर्लान भन्न सकिंदैन ।
प्रतिक्रिया दिनुहोस्