Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


नैतिक रूपमा स्खलित र हत्या आरोपी अग्नि सापकोटा सभामुख रहन अयोग्य : नागरिक समूह

महाभियोग लगाउन राजनीतिक दलहरूलाई आग्रह

9.5k
Shares

काठमाडौं । नागरिक समूहले सभामुख अग्निप्रसाद सापकोटा सभामुख रहन अयोग्य भएको ठहर गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै समूहले अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति भएको र यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्ति प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा रहन अयोग्य हुने उल्लेख गरिएको छ ।

सापकोटालाई सभामुखमा निर्वाचित गरेयता प्रतिनिधिसभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको उल्लेख गर्दै समूहले उहाँलाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्नका लागि नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती दिएको छ ।

आफूहरू नेपाल प्रहरीलाई अग्नि सापकोटाको ठेगाना दिएर निजलाई भेटिने गरी खोजी गर्न सघाउन तत्पर भएको उल्लेख गर्दै समूहले आफ्नो कार्यलाई खेलाँची नठानी सम्पादन गर्न नेपाल प्रहरीलाई पनि आग्रह गरेको छ ।

यस्तै नागरिक समूहले राजनीतिक दलहरूलाई महाअभियोग लगाउन पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ र यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ भनी जोडदार अपील गर्दछौं ।’