
काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको र यसलाई ठीक ढंगले आत्मसात् गरेर समाजवादको नयाँ आधार तयार गर्न सक्नुपर्ने बताए ।
‘एक्काइसौं शताब्दी सूचनाको शताब्दी हो । सूचना–प्रविधिमा भएको क्रान्तिलाई ठीक ढंगले बुझ्न र जनतालाई ठीक ढंगले सन्चार क्षेत्रले सम्प्रेषणको भूमिका खेल्नुपर्छ’–उनले भने–‘एकता, बहस, संघर्ष, रुपान्तरणसहित नयाँ आधारको एकताबाट हाम्रो राजनीतिक कार्यदिशा र विचारलाई परिष्कार गरी समाजवादको लक्ष्यमा पुग्न एकमत भएका हौं । अब हामीले पार्टीको बहुकेन्द्र नभइ बलियो हेडक्वार्टर बनाउनुपर्छ ।’
उनले शक्ति सन्तुलनको आजको अवस्थालाई हेर्दा समृद्धि हुँदै समाजवादको आधार गर्ने अहिलेको प्राथमिकता रहेकाले यही विचारका आधारमा संगठनको एकता गर्न आग्रह गरे ।
सत्तामा गएपछि जनताको सेवक नभइ मालिकजस्तो ठान्ने प्रवृत्तिका कारण पूर्वी युरोप र सोभियत संघको कम्युनिस्ट सत्ता ढलेको उदाहरणबाट सिकेर आलोचनात्मक चेतका साथ जनतासँग जीवन्तरुपमा जोडिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकतासँगै मातहतका कमिटी र जनसंगठनको एकता छिट्टै भइ देशव्यापी उत्साहको सन्चार दिने तयारी भइरहेको बताए ।
नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले चौतारी र सेन्टरबीच एकता प्रक्रियाले प्रगति हासिल गरेकामा सन्तोष व्यक्त गरिन् ।
चौतारीका अध्यक्ष गणेश बस्नेतले दुवै संगठनका केन्द्रीय सदस्यको सुझावअनुसार एकताको तयारी भएको जानकारी दिए ।
सेन्टरका अध्यक्ष महेश्वर दाहालले दुई संगठनको एकताका लागि बिहीबार र शुक्रबार अलग–अलग केन्द्रीय कमिटीको बैठक सन्पन्न गरी विधानबारे सुझाव संकलन भएकाले चाँडै एकता हुने बताए । रासस
प्रतिक्रिया दिनुहोस्