
काठमाडौं, साउन २२ । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।
इन्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए ।
उनले दीगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधककारुपमा देखापरिरहेको टिप्पणी गरे ।
गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदान–प्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हीतका लागिसमेत यो सम्मेलनले दिशानिर्देश गर्ने आशा व्यक्त गरे ।
मंगलबार सम्पन्न हुने सातौं मन्त्रिस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी छन् ।
सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।
नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आइओएम, युएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यकारुपमा छन् ।
गृह मन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनी यही साउन २३ गते नेपाल फर्कने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्