रोमन आचार्य र विशाल तामाङ (इमेज)
काठमाडौं, फागुन ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरुले दिन थालेका छन् ।
भौतिक पूर्वाधार तथा विकासमन्त्रीमा रामेश्वर फुयाँलको नियुक्तिसँगै प्रदेश सरकार र पार्टीको प्रदेश कमिटीबीच द्वन्द्व बढेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीको निर्देशनविपरीत रामेश्वर फुयाँललाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीमा शपथ खुवाएपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना बढेको हो ।
नेकपा वाग्मती इञ्चार्ज अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पौडेलले पार्टीको निर्देशन नमानेको र सांसदहरुको आवाजसमेत नसुनी एकलौटीरुपमा अगाडि बढेकाले अविश्वासको प्रस्ताव आउनसक्ने चेतावनी दिएकी छन् ।
मुख्यमन्त्रीलाई कार्यशैली सुधार्न सचेत गराइने र त्यतिले नपुगे पार्टीभित्रैबाट अविश्वास प्रस्ताव ल्याउने शाक्यले जानकारी दिइन् ।
सरकार गठन भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधान छ ।
वाग्मती प्रदेश सरकारको दुईवर्षे कार्यकाल सकिएकाले मुख्यमन्त्रीविरुद्ध जुनसुकै बेला अविश्वास प्रस्ताव आउनसक्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्