Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


‘वाइडबडी’ जहाजले नियमित उडान भर्दै


0
Shares

काठमाडौं, फागुन ६ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को ‘वाइडबडी’ ए–३३० जहाजले मंगलबारदेखि नियमित उडान गर्ने भएको छ ।

वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याएको सो वाइडबडी जहाजले अन्तर्राष्ट्रिय सुरक्षा मापदन्डअनुरुप ४८ घन्टा ‘क्वारेन्टाइन’को समय पार गरेपछि नियमित उडानमा फर्किएको हो ।

उक्त जहाजबाट ‘कोरोनाभाइरस’ फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो ।

जहाजको क्वारेन्टाइनको अवधि मंगलबार बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ ।

चीनबाट नेपाली ल्याएको वाइडबडी जहाजले आजदेखि नियमित उडान सुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

‘जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौं । जहाजको आवश्यक सरसफाइलगायत सबै मापदन्ड पूरा गरेपछि पुनः उडान सुरु गरिनेछ’–उनले भनिन् ।

निगमको निर्धारित् तालिकाअनुरुप वाइडबडी जहाजले मंगलबार राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ ।

जहाजलाई विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ ।

जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’मा राखिएको छ ।

वाइडबडी विमानबाट दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो ।

सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

वुहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको ‘क्वारेन्टाइन’मा राखिएको छ भने जहाजका विमानचालक (पाइलट)सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ । रासस