
खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज)
भक्तपुर, फागुन ५ । चीनको वुहानबाट ल्याएर भक्तपुरको खरिपाटीमा राखिएका नेपाली विद्यार्थीहरुको स्वास्थ्य जाँचको प्रक्रिया अघि बढेको छ ।
प्रारम्भिक परीक्षणबाट स्वस्थ देखिएका उनीहरुले कम्तीमा १४ दिन भने ‘क्वारेन्टाइन’मा बस्नुपर्ने छ ।
एक ८ महिनाका बालक र एक तीन वर्षकी बालिकासहित १७५ जनालाई शनिबार राति वुहानबाट ल्याएर विद्युत् प्राधिकरणको यस तालिम केन्द्रमा राखिएको छ ।
आइतबार बिहानै विद्यार्थीहरुलाई यस ठाउँमा राखिएको हो भने उनीहरुको स्वास्थ्य परीक्षणको ‘रिपोर्ट’ आउन बाँकी नै छ ।
स्वास्थ्य रिपोर्ट दुई/तीन दिनभित्रै आउने डा. नवीन फुयाँलले जानकारी दिए ।
करिब दुई साता क्वारेन्टाइनमा रहने विद्यार्थीहरुलाई तातो खानेपानी, खाजा खाना र इन्टरनेटकोसमेत व्यवस्था गरिएको छ । तर, परिवारसँग भने भेट्न दिइएको छैन ।
खरिपाटीमा विद्यार्थीहरुलाई राखेसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाईसमेत खटाइएको छ भने तालिम केन्द्रको गेटअगाडि नेपाल रेडक्रसको ‘हेल्थ डेस्क’ राखिएको छ ।
यहाँ प्रवेश गर्ने शुभचिन्तक तथा सञ्चारमाध्यमहरुलाई मास्क तथा हातेपन्जा अनिवार्य गरिएको छ ।
तालिम केन्द्रभित्र पत्रकार तथा आगन्तुकहरुका लागि छुट्टा–छुट्टै बस्ने व्यवस्था गरिएको छ ।
यहाँ ल्याइएकाहरु स्वस्थ नै भनिएपनि ‘कोरोनाभाइरस’ ग्रस्त क्षेत्रबाट आएकाले स्थानीयहरुमा भने अलिकति त्रास बढेको छ ।
प्रशासनले भने विद्यार्थीहरु संक्रमित नभएको भन्दै स्थानीयलाई त्रसित नहुन आग्रह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्