तराईका जिल्लामा रासायनिक मलको कालोबजारी व्यापक « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


तराईका जिल्लामा रासायनिक मलको कालोबजारी व्यापक


1.638k
Shares

काठमाडौं । तराईका जिल्लाहरुमा लामो समयदेखि मलको अभाव हुँदा किसानलाई समस्या भएको छ ।

समयमा मल हाल्न नपाउँदा हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा किसानहरु छन् । केही बर्षअघि सहकारी संस्थावाट अनुदानमा आउने मल हाल दोब्बर मुल्य तिर्दा पनि पाउन गाह्रो हुने गरेको छ ।

धान बाली तथा गहुँ छर्ने समयमा जसोतसो जोहो गरेर मल छरेका यहाँका किसान गहुँ बाली सिञ्चित भएपछि मल छर्न फेरि अभाव झेलिरहेका छन् । अहिले गहुँबालीमा युरीया मल हाल्ने बेला भएको छ ।

सहकारीहरुले कृषि सामग्री कम्पनीबाट थोरै परिमाणमा मल पाएपछि कालोबजारी समेत हुन थालेको छ । थोरै मात्रामा मल पाएपछि कतिपय सहकारीले स्थानीय व्यापारीलाई बुझाउने गरेका छन् ।

व्यापारीले किसानबाट चर्को मूल्य असुल्ने गरेका छन् । कम्पनीमा ७ सय ६५ रुपैयाँ पर्ने ५० केजीको एक बोरा युरिया मल किसानले स्थानीय व्यापारीसँग १ हजार ५ सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन् ।

अनुदानको मल कृषि सामग्रीको शाखाबाट लिदा भीडभाड हुने भएपछि केही वर्षदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।

किसानहरू बर्सेनि मलको समस्यामा खेपिरहँदा समेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।